समाचार
चार मन्त्री सरकारी आवासमा नसर्ने !

काठमाडौं, साउन २०-
संघीय सरकारका मन्त्रीहरूलाई सरकारी निवास उपलब्ध छ तर यतिबेला चार मन्त्रीले यो सुविधा लिएका छैनन्। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार उपपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री शरतसिंह भण्डारी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का निजी निवासमै बस्ने भएका हुन्। ती चारै मन्त्रीका सहयोगीले यस्तो जानकारी दिएका हुन्। उनीहरू आफ्नै निजी निवास सुविधासम्पन्न भएकाले सरकारी निवासमा नसर्ने भएका हुन्।
सरकारी निवास प्रयोग नसर्ने मन्त्रीले घर भाडाबापत मासिक ४० हजार रूपैयाँ पाउने व्यवस्था छ। निवास मर्मतका लागि पनि छुट्टै सुविधा पाउने व्यवस्था छ। अहिलेसम्म घर भाडा र निवास ममर्तका लागि कसैले बिल पेस नगरेको संघीय सचिवालय स्रोतले बतायो। ऊर्जामन्त्री खड्काका सहयोगी सेवक पोखरेलले घर भाडाबापत सरकारसँग पैसा नमागिने बताए।
‘भाडाबापत हामीले बिल पेस गर्ने छैनौं,’ उनले भने । खड्का बुढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका छन् । सहरी विकाममन्त्री सिंहको ठमेल चाक्सीबारीमा आफ्नै निवास छ। परराष्ट्रमन्त्री देउवा बुढानीलकण्ठ र श्रममन्त्री भण्डारी भैंसेपाटीस्थित निजी निवासमा बस्छन्। भैंसेपाटीमा बनिरहेको नयाँ निवासमा मन्त्रीहरू बस्न थालेका छन् । नयाँ मन्त्री निवासको विधिवत उद्घाटन भने भएको छैन।
पूर्ववर्ती मन्त्रिपरिषद्का दुई सदस्य असार पहिलो साता भैंसेपाटीस्थित सरकारी निवासमा सरेका थिए । असार १ गते तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह भैंसेपाटी सरेका हुन्। नयाँ मन्त्री निवासमा सरेको तीन साता नबित्दै उनीहरूले पदबाट राजीनामा दिएका थिए । केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा पनि साह र यादव मन्त्री छन् । साह महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्री र यादव खानेपानी मन्त्री छन्।
त्यसैले उनीहरूले भैंसेपाटीको सरकारी निवास छाड्नुपरेन। भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल अघिल्लो साता पुल्चोकस्थित मन्त्री निवास (पुरानो)बाट नयाँ निवास भैंसेपाटी सरेका छन्।पुल्चोकस्थित मन्त्री निवासको सी १ बल्कमा बस्दै आएका उनलाई निवासमा बर्खे पानीको भल पसेपछि रातारात भैंसेपाटी सारिएको थियो। यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे पनि भैंसेपाटीस्थित नयाँ सरकारी निवासमा सरेका छन्।
विशेष भवन आयोजनकाका प्रमुख मच्चाकाजी महर्जनले पुल्चोकस्थित निवासमा बस्दै आएका सबै मन्त्रीलाई साउनभित्रै भैंसेपाटीमा सार्ने गृहकार्य भइरहेको बताए। यसका लागि भैंसेपाटीमा गर्नुपर्ने सबै काम करिबकरिब सकिएको छ। नागरिक दैनिकमा समाचार छ ।
























