पहिरो

तल्लो चिप्लाका स्थानीय त्रिपालमुनि

Banner

लमजुङ, साउन १९-

मस्र्याङ्दी गाउँपालिका-५ तल्लो चिप्ला गैरीगाउँका स्थानीय त्रिपाल टाँगेर बसेका छन् । यही साउन १२ गते परेको वर्षाले बस्ती माथिका जमिन चिराचिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३ गतेदेखि यहाँका ४० घरपरिवार यतिबेला सोही गाउँ नजिकैको डाँडाँगाउँमा गएर त्रिपाल टाँगेर बस्दै आएका हुन् ।

वडाध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब साढे एक सय मिटरमाथि जमिन अविरल वर्षाले १५-२० मिटर धज्जा फाटेको र साना साना दर्जनौँ स्थानमा जमिन फाट्न थालेकाले बस्ती जोखिममा परेपछि गाउँका स्थानीय त्रिपाल टाँगेर बस्न थालेको बताउनुभयो । यतिबेला ठूलो पानी आएर जमिन बगाउन थाल्यो भने गाउँ बगाउन सक्छ ।

भिरालो ठाउँमा बस्ती भएकाले गाउँ पहिराको उच्च जोखिममा परेपछि गाउँपालिकाबाट २५, जिल्ला प्रशासन कार्यालयबाट चार र नेपाल रेडक्रस सोसाइटीबाट १० त्रिपाल स्थानीयलाई सहयोग प्राप्त भएको तथा अस्थायी रुपमा मकै बारीमा त्रिपाल टाँगेर स्थानीयका लागि राती सुत्न व्यवस्थापन भइरहेको वडाध्यक्ष घलेले बताउनुभयो ।

भदौसम्म जोखिम रहने भएकाले स्थानीयलाई मकैबारीमा त्रिपाल टाँगेर राखिएको उहाँको भनाइ छ । सो गाउँका करिब एक सय ६० स्थानीय रहेका छन् । मुख्यमुख्य सामान आफन्तकामा सारिसकेको वडा कार्यालयले जनाएको छ । बिहान बेलुका घरमा खाना बनाउने र खाने तथा सुत्नका लागि ५ः३० बजे नै विद्यालय र आफन्तको घरमा जाने गरेको स्थानीय कमल गुरुङले बताउनुभयो ।

“बिहानै घर फर्किन्छौँ बालबच्चा र वृद्धाहरुलाई भने आफन्तको मै छाडेर सक्ने जति आउने र बिहान खाना खाएर खेतबारीमा काम गर्छौँ, मौसम खराब भएको बेलामा काम गर्दा गर्दै छाडेर अर्को गाउँ जाने गरेका छौँ”, उहाँले भन्नुभयो, “हामीलाई यतिबेला घरमा खाना बनाउन खानादेखि काम गर्न पनि डराइडराइ गरिरहेका छौँ, मौसम हेरेर बस्नुपर्ने स्थिति छ ।”

उहाँका अनुसार उपलब्ध त्रिपाल टाँगेर स्थानीय बस्न थालेका छन् । रातिको समयमा सो बस्ती नै खाली हुँदा सुनसान हुन थालेको छ । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पहिराको जोखिम रहेपछि अस्थायी रुपमा बस्नलाई त्रिपाल व्यवस्थापन गरिएको र स्थानीयहरु त्रिपाल टाँगेर बस्न थालेको बताउनुभयो ।

बस्ती नै जोखिम स्थानमा रहेकाले पहिराले घटना घटाउन सक्ने भएकाले तत्कालका लागि अस्थायी रुपमा अर्को गाउँमा स्थानीय त्रिपाल टाँगेर र आफन्तकोमा बस्न थालेकाले मान्छेहरु सुरक्षित रहने भए पनि पहिरो आएमा बस्ती सखाप हुन सक्ने प्रजिअ गुरुङले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>