Breaking News
सिमलताल घटनाः उपकरणको अवस्था बुझ्न कार्यदलको टोली तालिम केन्द्रको निरीक्षणमा (फोटो फिचर)

चितवन, साउन १८–
चितवनको भरतपुर–२९, स्थित सिमलतालमा खसेको पहिरोले दुई वटा बस त्रिशुली नदीमा बेपत्ता भएपछि सरकारले गठन गरेको अध्ययन कार्यदलले प्रतिवेदन बुझाउने अन्तिम समयमा आज सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार चितवनको निरीक्षण गरेको छ ।
गृहमन्त्रालयका सह–सचिव छवि रिजालको संयोजकत्वमा बनेको कार्यदलको टोलीले आज दिउँसो शिक्षालयको निरीक्षण गरेको हो । तालिम केन्द्रमा हाल रहेको प्रविधि तथा उपकरणको अवस्था र उद्दार कार्य, जनशक्तिको बारेमा स्थलगत निरीक्षण गरेको हो । कार्यदल संयोजक रिजालले उद्दारको काममा सशस्त्र प्रहरीले के–कस्ता उपकरण प्रयोग गरेको छ, आवश्यक के छ भन्ने विषयमा जानकारी लिन निरीक्षण गरिएको बताए । उनले यस निरीक्षण पश्चात केही दिनमै सरोकारवाला सबै पक्षलाई राखेर सुझावसहितको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिए ।

कार्यदलको टोलीले निरीक्षण गरे पश्चात छलफल कार्यक्रम गरिएको थियो । तालिम केन्द्रका शसस्त्र प्रहरी उपरीक्षक जनक पुरीले शसस्त्र प्रहरीले गरिरहेको काम, उपकरण, जनशक्ति र आवश्यकताको बारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसपश्चात कार्यदलको टोलीलाई उद्दार अभ्यास देखाईएको थियो । गत असार २८ गते विहान साढे ३ बजेको समयमा लेदोसहित आएको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बसलाई त्रिशुली नदीमा खसालेको थियो । ती दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए । जसमध्ये ३ जना हामफालेर बाच्न सफल भएका थिए ।
दुर्घटनामा परेर हालसम्म १९ जनाको शवको सनाखत भएको छ भने ५ जनाको अझै सनाखत हुन बाँकी छ ।































