चितवन विशेष
नारायणी कला मन्दिरले प्रतिभा मञ्चको आयोजना गर्ने

चितवन, साउन ११-
चितवनको नारायणी कला मन्दिरले प्रतिभा मञ्च २०८१ नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । चितवन र नवलपरासी (बर्दघाट सुस्ता पुर्व)लाई लक्षित गर्दै करिब छ महिनासम्म प्रतिभा मञ्चको आयोजना गर्न लागिएको आज नारायणगढमा पत्रकार सम्मेलनका आयोजना गरि जानकारी दिइएको छ । गाउँ गाउँमा लुकेर बसेका वा आफ्नो कला प्रर्दशन गर्नबाट बञ्चित भएका १४ देखि ३० बर्ष उमेर समुहलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गर्न लागिएको नारायणी कला मन्दिरका अध्यक्ष रोहित कुमार श्रेष्ठले जानकारी दिए । यही साउन १४ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल कात्तिक २४ गते हुनेछ । पहिलो चरणमा साउन १४ गतेदेखि २८ गतेसम्म अडिसन लिईनेछ ।
दुई जिल्लाका पाँच स्थानमा अडिसन गराई उत्कृष्ट ३० जना प्रतियोगिलाई छनोट गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । पहिलो अडिसन चितवनको पर्सामा साउन १४ गते लिईने छ । त्यस्तै पश्चिम चितवनको चनौलीमा साउन १९ गते, कावासोतीमा साउन २१ गते, भरतपुर र नारायणगढ आसपासका क्षेत्रको भरतपुरमा साउन २६ गते र इच्छाकामनाको मुग्लिनमा साउन २८ गते अडिसन हुने भएको छ । उत्कृष्ट ३० जनाबाट उत्कृष्ट १५, १० र ५ जनाको छनोट गरिने छ । उनिहरुको अडिसन क्रमशः भदौँ १०, असोज १२ र कात्र्तिक ३ गते हुने प्रतिभा मञ्च २०८१का संयोजक रामशरण सिलवालले जानकारी दिए ।
फाइनल चरणका कार्यक्रम पार गर्दै कात्र्तिक २४ गते ग्राण्ड फिनाले हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार द्धितिय पुरस्कार २५ हजार, तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार दुई जनालाई पाँच/पाँच हजार राखिएको छ । प्रतिभा मञ्च नारायणी कला मन्दिरले प्रत्येक २/२ बर्षमा आयोजना गर्ने कार्यक्रम निर्देशक रामप्रसाद श्रेष्ठले जानकारी दिए । ‘विगतमा हामीले प्रतिभाको खोजि गर्दथ्यौँ । तर सहभागिहरु कमजोर हुँदा पुरस्कार दिन पनि असहज पर्ने अवस्था आयो,’ श्रेष्ठले भने ‘यस पटक चितवन र वरपर कस्ता कस्ता कलाकार छन् भन्ने उद्देश्यका साथ अडिसन लिएर प्रत्येक प्रत्येक २/२ बर्षमा आयोजना गछौँ।’ प्रतियोगितामा निर्णायक मण्डलमा पुष्प श्रेष्ठ, सुमित लामा र सोसरी मल्ल रहेका छन् । यस्तै प्रतियोगितामा अडिसनबाट छनोट भएका प्रतियोगिलाई कोडियो ग्राफर समेत उपलब्ध गराईने उनले जानकारी दिए । नारायणी कला मन्दिर २०१९ सालमा स्थापना भएको संस्था हो । यसले कला साहित्य र संस्कृतिको क्षेत्रमा विशेष काम गर्दै आएको छ ।