राजनीति
कांग्रेस-एमालेलाई ज्ञानेन्द्र शाहीले भने: भुटानी शरणार्थी र गिरीबन्धु भनेर हामीसँगै बसेर कराउने दिन नआओस्

काठमाडौं, साउन ८-
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारमा हुनेहरूलाई धमाधम भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तापक्षमा हुँदा केही नगर्ने प्रतिपक्षमा आएपछि भ्रष्टाचारको फाइल खोल्ने कुरा नगर्न आग्रह गरे ।
उनले कांग्रेस एमालेलाई लक्षित गर्दै भने, ‘अहिले तपाईँहरू सरकारमा हुनुहुन्छ, भोलि तपाईँहरूको दिन नआओस्, फेरि भुटानी शरणार्थी, गिरीबन्धु, टेरामक्स, ओम्नी, एनसेल, मेलम्चीलगायतका काण्ड भनेर हाम्रो सँगसँगै बसेर कराउने दिन नआओस् । काम गर्नुस् ।’
उनले सदनमा तिम्रा फाइल बन्द गरेर हाम्रा किन खोल्छौँ भनेर सदनमा जुहारी चलेको उनको भनाइ छ । सत्तापक्ष र प्रतिपक्ष जो भए पनि भ्रष्टाचारमा संलग्न हुनेहरूलाई कारबाही गर्न माग गरे ।
यस्तै, उनले कैलालीको धनगढी उपमहानगरपालिका ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिएर चर्च बनाइएको बताए।

























