चितवन विशेष
चितवनको राप्ती नगरपालिकामा ‘बजेट होलिडे’, अहिलेसम्म बजेट पास भएन

चितवन, साउन २-
राप्ती नगरपालिकाको नगर प्रमुखको असक्षमताका कारण अहिलेसम्म बजेट पास भएको छैन । असार मसान्त भित्रै बजेट ल्याउन नसकेपछि राप्तीमा ‘बजेट होलिडे’ भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) अनुसार स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।
त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले साउन १ गतेबाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन । अर्थात्, बजेट होलिडे हुन्छ । सबैलाई मिलाएर लैजाने क्षमता नगर प्रमुखमा हुनुपर्छ । नगर प्रमुखले एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कुरै नसुन्दा राप्तीमा पटक–पटक जनप्रतिनिधिबीच विवाद हुँदै आएको छ । यहाँका नगर प्रमुख शमशेर लामा नेकपा (एकिकृत समाजवादी)बाट निर्वाचित भएका हुन् ।
नगर प्रमुखको कार्यशैलीकै कारण पालिकाको काम कारबाही प्रभावित हुने गरेको छ । धेरै भन्दा धेरै जनाको कुरा सुनेर सके सर्वसम्मत नभए बहुमतबाट भएपनि काम कारबाही अगाडि बढाउन सक्ने गुण नेतृत्वमा हुनुपर्छ । राप्ती नगर प्रमुखमा उक्त गुण नहुँदा जिल्लाका सात वटा पालिकामध्ये सबैभन्दा कमजोर यहि पालिका बनेको छ ।
चितवनको राप्ती मात्र नभई देशभरका ४९ पालिकामा बजेट होलिडे भएको छ । गाउँपालिका राष्ट्रिय महासंघका अनुसार आर्थिक वर्ष २०८१/८२ सुरु भइसक्दा पनि ३६ गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।


























