शिक्षा

एसइईमा फेल भएका १० हजार विद्यार्थीले दिए रिटोटलिङका लागि निवेदन

Banner

काठमाडौं, असार २१-

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा एनजी अर्थात् अनुत्तीर्ण भएकामध्ये १० हजार विद्यार्थीले रिटोटलिङका लागि निवेदन दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डको लापरबाहीले एसइईमा अनुत्तीर्ण भएको भन्दै परीक्षार्थीले उत्तरपुस्तिका तथा ग्रेडिङ नम्बर पुनः परीक्षणको माग राख्दै निवदेन दिएका हुन् ।

बोर्डका अनुसार दैनिक करिब दुई हजारको संख्यामा रिटोटलिङका लागि निवेदन आइरहेको छ । यसपटक विद्यार्थीले अनलाइनबाटै रिटोटलिङका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । त्यसकारण धेरै विद्यार्थीले निवेदन दिएको बोर्डको बुझाइ छ ।

बोर्डमा अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाफल सार्वजनिक गरेको भोलिपल्टदेखि रिटोटलिङका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको थियो । १४ असारयता १० हजारले अनलाइन निवेदन दिएका हुन् । ‘रिटोटलिङ गर्नुपर्‍यो भनेर दश हजारभन्दा बढीले निवेदन दिनुभएको छ, अझै निवेदन आइरहेको छ, । अब उहाँहरूको उत्तरपुस्तिका तथा विवरण फेरि एकपटक चेकजाँच हुन्छ, प्राविधिक गल्ती वा मिसिङ पनि भएको हुन सक्छ,’ उनले भने, ‘अनलाइनबाट निवेदन दिने व्यवस्था गरिएकाले धेरैले निवेदन दिनुभएको छ, यसको नतिजा १५–२० दिनभित्र दिन्छौँ ।’

बोर्डले एसइईको नतिजा सार्वजनिक भएको १५ दिनसम्म रिटोटलिङका लागि निवदेन दिन सकिने सूचना जारी गरेको छ । हालसम्म निवेदन दिएकामध्ये सबैभन्दा धेरै गणित, सामाजिक, विज्ञान र नेपाली विषयका छन् । बोर्डको समग्र नतिजाअनुसार पनि यी विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>