राजनीति
झलनाथले पार्टी अध्यक्षमा घनश्यामलाई समर्थन गर्ने

काठमाडौं, असार १२-
नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् ।
यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् ।
सहमति अनुसार आगामी १६ असारदेखि काठमाडौंमा सुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भूसाल पार्टी अध्यक्षको उम्मेदवार हुनेछन् । ‘उहाँहरु दुवैले अध्यक्षको दाबी गरिरहँदा केही अप्ठ्यारो परिस्थिति बनेको थियो ।
ती स्रोतका अनुसार भूसालले पनि खनाललाई आफू उत्तराधिकारीका रुपमा अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् । तत्कालीन एमाले र २०७८ भदौमा बनेको एकीकृत समाजवादीभित्र खनाल र भूसालबीच निकटको सम्बन्ध थियो । तर एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा खनाल र भूसाल दुवैले अध्यक्षको दाबी गरेका थिए । दुवै नेताका पार्टीभित्र धेरै मानिस साझा थिए । त्यसैले खनाल र भूसाललाई मिल्न दबाब थियो ।
तर अध्यक्ष माधवकुमार नेपालले भने फेरि पनि नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन् । अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेका छन् । चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

























