क्रिकेट

एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

०
Banner

काठमाडौँ, कात्तिक ६–

बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ दिने समय आएको छ ।”

बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन् । शमीम यु–१९ क्रिकेटदेखि नै सफलता हासिल गर्ने खेलाडी हुन् । सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आइसिसी यु–१९ विश्वकपको उपाधि जित्दा उनी बङ्गलादेशको टोलीमा थिए ।

विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने अवसर पाए । शमीमले सन् २०२१ को जुलाईमा जिम्बाब्वेविरुद्ध टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । सोही वर्ष उनी टी–२० विश्वकप खेल्ने बङ्गलादेशी टोलीमा पनि समावेश भएका थिए ।

शमीमले सन् २०२३ मा अफगानिस्तानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा समेत पदार्पण गरे । बङ्गलादेश प्रिमियर लिग ९बिपिएल० मा चटगाउँ च्यालेन्जर्स, रङ्गपुर राइडर्स र चटगाउँ किङ्सलगायत टोलीबाट खेलेका शमीमले सन् २०२४–२५ को संस्करणमा चटगाउँ किङ्सबाट ३५२ रन बनाएका थिए ।

उनले हालसम्म विदेशी लिग भने खेलेका छैनन् । शमीम अब एनपिएलमार्फत त्यो उपलब्धि पनि हासिल गर्ने तयारीमा छन् ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>