समाचार

सप्तकोसी डेभलपमेन्ट बैंकका सिईओलाई ३ बर्ष जेल सजाय

Banner

विराटनगर, असार ३-

सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीलाई ३ वर्ष ३ महिना जेल सजायको फैसला भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सुवेदीलाई ३ वर्ष ३ महिना १८ दिन सजाय निर्धारण गरेको हो ।

यसअघि गत जेठ २० गते सुवेदीलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । विशेषले सुवेदीलाई दोषी ठहर गरेको १२ दिनपछि सजाय र जरिवाना निर्धारण गरेको हो ।

सुवेदीले रेमिट्यान्स नै नआएको व्यक्तिहरूको नाममा फर्जी कारोबार गरेर आफन्तको नाममा सेयर कारोबार तथा घरजग्गाको कारोबार गरेको निष्कर्षसहित विशेषले दोषी ठहर गरेको थियो ।

विशेषले जेठ २० मा नवीन सुवेदीसहित हरिकुमारी सुवेदी र बबिता पोखरेललाई पनि दोषी ठहर गरेको थियो । विशेषले शुक्रबार सजाय निर्धारण गर्दै सुवेदीलाई सम्पत्ति शुद्धीकरण (मनि लन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा २० को उपदफा ९१० बमोजिम ३ वर्ष कैद र बिगोको दोब्बर २ करोड ३६ लाख ५४ हजार ४०१ रुपैयाँ २० पैसा जरिवानाको फैसला गरेको छ ।

विशेषले उक्त फैसलाका क्रममा सुवेदीसँग अतिरिक्त जरिवाना र कैद हुने पनि उल्लेख गरेको छ । जसअनुसार उनले २३ लाख ७५ हजार ५४० अतिरिक्त जरिवाना र ३ महिना १८ दिन थप कैद सजाय भोग्नुपर्ने भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले २०८० असार २० गते सुवेदीसहितविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । उनीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँभन्दा धेरै बिगो मागदाबी गरिएको थियो । विभागले उनका सन्तानको नाममा रहेको सम्पत्ति पनि जफत गर्न अदालतसमक्ष माग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>