राजनीति

पार्टीले माक्सवादको वैचारिक दृष्टिकोणलाई कम्युनिष्ट आदर्शका रूपमा अवलम्बन गर्छः अध्यक्ष नेपाल

Banner

काठमाडौँ, जेठ २७

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले माक्र्सवादको वैचारिक दृष्टिकोणलाई कम्युनिष्ट आदर्शका रूपमा अवलम्बन गर्ने बताउनुभएको छ ।

समाजवादी अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले निरंकुशताविरुद्धको सङ्घर्षमा क्रियाशील हुँदै जनअधिकार तथा सामाजिक रुपान्तरणमा कम्युनिष्ट आन्दोलनको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभयो ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै अध्यक्ष नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज मातहतका कमिटीमा छलफलका क्रममा रहेका जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले देश विकास तथा समृद्धिका लागि श्रमजीवी, किसान, उद्योगी तथा व्यवसायीको संरक्षण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक उत्पादन र औद्योगीकरणको खाँचो औँल्याउनुभयो । उहाँले विश्व परिवेशमा परिवर्तित शक्ति सन्तुलनले राष्ट्रियतामाथि पार्ने प्रभाव, अस्थिरता तथा वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्न लोकतान्त्रिक र समाजवादी शक्तिहरूबीच कायम राजनीतिक अन्तरविरोध कम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान गरिबी, शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समस्या अन्त्य गर्न, सबै प्रकारका विभेद तथा भेदभाव निर्मूल गर्न समाजवादी वैचारिक कार्यदिशा सही हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले वर्तमान राजनीतिमा बढेको अविश्वासले प्रतिक्रियावादी शक्तिहरूलाई हौसला दिएकाले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य तथा समन्वयको खाँचो औँल्याउनुभयो ।

महासचिव घनश्याम भुसालले मुलुकमा विद्यमान सम्पूर्ण समस्या र विकृति समाधानका लागि समाजवादी कार्यक्रम तथा परियोजना निर्माण तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी सङ्गठन विभाग सचिव अशेष घिमिरेले सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन सबैलाई आग्रह गर्दै उहाँले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि वैज्ञानिक समाजवादको महत्वमा जोड दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>