चितवन विशेष
चितवनमा हावाहुरीबाट करोडौँको केराखेती नष्ट
चितवन,जेठ २०-
चितवनको रत्ननगर नगरपालिका–२ का हरिशरण पराजुलीको बगानमा फलेको केरा बजार लैजाने अवस्थामा पुगेको थियो । उहाँले केरा काटेर बजार लैजानका लागि खेतालासमेत खोजिसक्नुभएको थियो । तर, बिहीबार र शुक्रबार आएको हावाहुरीले बगानमा भएको केरा नै नष्ट गरेको छ ।
‘खैरहनी नगरपालिका–६ मा २० बिघामा केरा लगाएको थिएँ । केरा बजार लैजानका लागि पाकेर ठीक्क थियो । यही साताभित्र बजार लैजाने सोँच बनाएको थिएँ’ पराजुलीले आफ्नो बेदना पोख्दै भन्नुभयो, ‘अहिले हावाहुरीले सबै नष्ट गरिदियो ।’ प्रतिफलको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछि उहाँ निकै चिन्तित हुनुहुन्छ । जग्गा भाडामा लिएर केराखेती गर्दै आउनुभएका उहाँ हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सक्नुभएको छैन ।
‘केराखेती गर्न थालेको १२ वर्ष पुग्यो । हावाहुरीले अहिलेजस्तो क्षति कहिल्यै गरेको थिएन’ उहाँले भन्नुभयो ‘बारीमा लगाएकोमध्ये पाँच प्रतिशत केराका बोट पनि ठाडो छैनन् ।’ हावाहुरीका कारण ८० लाख रुपैयाँ घाटा लागेको बताउनुभयो । ‘२० हजारभन्दा बढी केराका बोट हावाहुरीले ढलाएको छ । ९० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य थियो,’ उहाँले भन्नुभयो, ‘६० लाख रुपैयाँ त लगानी मात्र भएको छ ।’
पराजुलीले रौतहटमा पनि ३० बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको छ । त्यहाँपनि एक महिना अगाडि आएको हावाहुरीले ४० प्रतिशतको हाराहारीमा केरा नष्ट गरिदिएको थियो । चितवनमा आएको हावाहुरीले ठूलो संख्यामा केरा नष्ट भएको उहाँले बताउनुभयो । उहाँले केराको बिमा गरेपनि लगानी उठ्न कठिन हुने बताउनुभयो । ‘केराको बिमा त गरेको छु । गत वर्षको हावाहुरीले ढालेको ३१ सय बोटको सात लाख रुपैयाँ अहिलेसम्म पाएको छैन,’ उहाँले भन्नुभयो, ‘अहिले बिमा कम्पनीले दिन के गर्छ ?’ धानको बीउसमेत उत्पादन गर्दै आउनुभएका पराजुलीले कहिले दैवीप्रकोप त कहिले बजारीकरणका कारण किसानहरु समस्यामा परेका बताउनुभयो ।
रत्ननगरका माधव घिमिरेले खेरा खेती गर्न थालेको १४ वर्ष पुग्यो । अहिले उहाँले छ बिघा क्षेत्रफलमा केरा लगाउनुभएको थियो । तर, बजार लैजाने अवस्थामा बोट ढलेपछि उहाँलाई पनि निकै पीडाबोध भएको छ । ‘केही दिनमा बजारका लागि तयार हुने केरा सबै हावाहुरीले सखाप पा¥यो,’ उहाँले भन्नुभयो ‘बेच्न पाएको भए ३५ लाख रुपैयाँ पर्दथ्यो । बेच्न नै पाइएन ।’ उहाँका अनुसार एक बिघा क्षेत्रफलमा केरा लगाउन तीन लाख रुपैयाँ लगानी लाग्छ ।
जेठ, असार र साउन केरा राम्रो उत्पादन हुने महिना हो । तर, बजार लैजाने समयमा हावाहुरी आउँदा करिब पाँच करोड हाराहारीमा केरा नष्ट भएको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताउनुभयो । ‘चितनवमा उत्पादन भइरहेको केरा केही दिनमा बजार जाने अवस्थामा थिए,’ पन्तले भन्नुभयो ‘दुई दिनसम्म आएको हावाहुरीले पाँच करोड रुपैयाँ भन्दा बढीको केराखेतीमा नोक्सान गरेको छ ।’
चैत, वैशाख, जेठ, असार र साउन केराले राम्रो बजार पाउने समय हो । अहिले किसानले प्रतिकोसा सात रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । ‘यो सिजनमा किसानले केराको राम्रो मूल्य पाउने सिजन हो । अहिले नै हावाहुरी आएपछि किसानमाथि बज्रपात भएको छ’ उहाँले भन्नुभयो । पन्तका अनुसार, एक बिघा क्षेत्रफलमा दुई हजार बोट उत्पादन हुन्छ । अहिले चितवनमा दुई हजार दुई सय पाँच बिघा क्षेत्रफलमा केराखेती भएको छ । त्यसमध्ये ९५ प्रतिशत क्षेत्रफलमा लगाइएको केरा हावाहुरीले नष्ट गरेको उहाँको दाबी छ ।
चितवनमा केरा जोनसमेत छ । आर्थिक वर्ष २०७५÷७६ सालमा स्थापना भएको जोनले ५० प्रतिशत अनुदानमा केराका बिरुवा वितरण समेत गर्ने गर्दछ । यसले गर्दा किसानहरुले केराखेती गर्ने क्षेत्रफल बढाइरहेका थिए । परियोजनाअन्तर्गत जिल्लामा १ हजार ६ सय हेक्टरमा केराखेती भएकोे प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिनुभयो ।
चितवनमा केराको उत्पादकत्व समेत बढ्दै गएको थियो । ढुंगानका अनुसार जिल्लामा प्रतिहेक्टर २८ मेट्रिक टन केरा उत्पादन हुने गर्दछ । तर, यसवर्ष हावाहुरीका कारण उत्पादन घट्ने उहाँको अनुमान छ । नेपालको उत्पादन तीन लाख आठ हजार ३८८ मेट्रिक टन छ । यो कुल मागको ६० प्रतिशत रहेको ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार, ४० प्रतिशत केरा भारतबाट निर्यात हुँदै आएको छ । देशभर केराको कुल माग पाँच लाख १४ हजार ५० मेट्रिक टन छ । यहाँ २१ हजार ६३३ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ ।
यसमध्ये चितवनमा दुई हजार ७६ हेक्टर क्षेत्रमा केराखेती हुन्छ । त्यसमध्ये ४३ हजार १९३ मेट्रिक टन केरा उत्पादन चितवनमै हुन्छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ । चितवनका अलावा कैलाली, कञ्चनपुर, परासी, झापा, बारा, मोरङ, सुनसरी, रौतहट, बाँके, बर्दियामा केराको राम्रो उत्पादन हुँदै आएको छ । प्राकृतिक विपद्ले क्षति भएपछि किसानले बिमा रकम पाउने गरेका थिए । तर, सरकारले दिनुपर्ने रकम बिमा कम्पनीलाई नदिएपछि बिमा कार्यक्रम रोकिएको छ । जसका कारण किसानहरु समस्यामा पर्दै आएका छन् ।
नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार बिमा कम्पनीले दुई महिनादेखि केरामा बिमा गर्न छाडेको छ । ‘चितवनका किसानले केरामा नियमित बिमा गर्दै आएका थिए, यसवर्षबाट बिमा हुँदैन,’ उहाँले भन्नुभयो, ‘नियमित हुँदै आएको बिमा नहुँदा किसानहरु मर्कामा परेका छन् । किसानले प्रिमियमको २० प्रतिशत र सरकारले ८० प्रतिशत बेहोर्ने गर्दथे ।’ बिमाले किसानलाई राहत भएको थियो । ‘अहिले किसानले चाहेर पनि बिमा गर्न पाएका छैनन्,’ उहाँले भन्नुभयो ‘अन्तर्राष्ट्रिय मापदण्डले पनि कृषि बिमा रोक्न पाइँदैन ।’ सुरक्षित तरिकाले बिमा नभएको अवस्थामा देशलाई घाटा हुने उहाँले बताउनुभयो । यही अवस्था भए भारतबाट ठूलो परिणाममा केरा आयात हुने उहाँको भनाइ छ ।