चितवन विशेष

भरतपुरमा ३०० बढी ज्येष्ठ नागरिक र एकल महिला सम्मानित

Banner

चितवन, वैशाख २७-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताएकी छन् ।

भरतपुर वडा नम्बर २५ले गरेको ज्येष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले ज्येष्ठ नागरिकसँग रहेका राम्रा ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न सके ज्येष्ठ नागरिकप्रतिको सम्मानमा कमी नआउने उल्लेख गरिन् । कार्यक्रममा वडा नम्बर २५ का ३०० बढी ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरिएको छ ।

हिजोका दुःख संघर्ष अहिलेका पीडितले थाहा नपाउदा अहिलेको पुस्ताले ज्येष्ठ नागरिकलाई गर्ने सम्मानमा कमी आएको उनको भनाइ थियो । आगामी दिनमा ज्येष्ठ नागरिकलाई आदार सम्मान गरी पालपोषण गर्ने छोरा बुहारी, छोराछोरीलाई यस्तै कार्यक्रम आयोजना गरी सम्मान गर्नुपर्ने उनले बताइन् । ‘नेपालमा पनि बुवा–आमालाई अहिले पनि भगवानकै ठाउँमा राखेर पुज्नेहरु छन्’ मेयर दाहालले भनिन् । तर, केही व्यक्तिले भने वृद्ध बुवाआमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुःखद भएको उनले बताइन् । बुबा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उनको भनाइ छ ।

‘मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत १६ हजार बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण भएको छ’,उनले भनिन्,‘अब घर–घरमै पुगेरसम्बन्धित रोगको औषधि बितरण गर्नेछौ । यो नै महानगरको ज्येष्ठ नागरिकप्रतिको सम्मान हो ।’ ज्येष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न सामाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताइन् । ज्येष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गरिन् ।
बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्यूनीकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उनले औल्याए । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने प्रमुख दाहालको भनाइ थियो ।

कार्यक्रममा भरतपुर २४ नम्बरका अध्यक्ष रामु गोदार, वडा नम्बर २५ का अध्यक्ष छविलाल सापकोटा, प्रभात माविका प्रधानध्यापक होमनाथ भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>