कृषि

खैरहनीमा सप्तगण्डकी बहुमुखी क्याम्पसको जलवायु परिवर्तनबारे कार्यशाला

Banner

चितवन, वैशाख १६-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले खैरहनी नगरपालिकामा ‘जलवायु परिवर्तनले कृषि र खाद्य सुरक्षामा पारेको असर र अनुकुलनका उपायहरुबारे’ कार्यशाला गरेको छ ।

क्याम्पसको विज्ञान विभागको आयोजना तथा क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शनिबार सो कार्यशाला गरिएको हो ।

क्याम्पसको विज्ञान विभागका प्रमुख रविराज सुवेदीको अध्यक्षतामा खैरहनी नगरपालिका–३ गोठश्वरमा भएको कार्यशालामा विद्यार्थीका सिकाइलाई समुदायसम्म पु¥याउने प्रयास गरिएको छ । विद्यार्थीले कृषकका बास्तविक समस्या पत्ता लगाई विषय विज्ञमार्फत समाधानका उपाय खोज्ने साथसाथै उक्त छलफलमा विद्यार्थीलाई समाबेश गरी विद्यार्थीले थप ज्ञान हासिल गरेका थिए ।

कार्यक्रममा प्रधानमन्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन चितवन शाखाका कृषि अधिकृत ईन्द्र शर्मा ढुंगानाले नेपाललगायत विश्व समुदायले वर्तमान समयमा भोगिरहेको जलवायु परिवर्तनको प्रतिकुल प्रभावसँग जुध्नका लागि कृषि तथा खाद्य सुरक्षामा कसरी अनुकुलन गर्न सकिन्छ र जलवायुमैत्री कृषि प्रणालीको अवलम्बन गर्ने उपायहरुको बारेमा प्रस्तुतिकरणसहित कृषकका जिज्ञासा समाधान गरेका छन् ।
यसैगरी कार्यक्रमका अर्का प्रशिक्षक नेपाल सरकारका पूर्व भेटेरिनरी अधिकृत पूर्णचन्द्र अधिकारीले स्मार्ट पशुपालनका तरिका तथा पशुबाट मानिसमा सर्ने जुनोटिक रोगहरु, लक्षण तथा उपचार साथै नश्ल सुधार तथा कृतिम गर्भाधान सम्बन्धी प्रस्तुतिकरणका साथै प्रयोगात्मक कक्षा सञ्चालन गरेका छन् ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक सुरज न्यौपानेले स्मार्ट कृषिका लागि उर्जा तथा सिंचाई व्यवस्थापनका विषयमा अध्ययन प्रतिवेदनसहित प्रस्तुतिकरण दिए ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलका संयोजक तथा ब्यवस्थापन विभागका बिभागीय प्रमुख डा. कपिलदेव सुवेदीले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन अनुसन्धानात्मक कार्यक्रममा क्याम्पसले लगानी गर्ने नीति लिएको र समुदायको समस्या समाधान गर्न सक्ने सिप हाँसिल गर्ने गरी कार्य गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख खिमलाल दाहालले विज्ञान विभागले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थी र समुदायलाई जोड्ने प्रयास गरेको, समुदायले भोगेका अनुभवबाट विद्यार्थीको ज्ञानमा अभिबृद्धि हुने र सरोकारवाला सबैको प्रयासबाट अहिले विश्व समुदायले भोगेको बाताबरणीय प्रदूषण तथा जलबायु परिवर्तनसँग जुध्ने क्षमताको विकास हुने हुँदा यस्ता रचनात्मक कार्यक्रममा क्याम्पसको सधैँ साथ र सहयोग हुने बताए । सप्तगण्डकी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसले पहिलो पटक विद्यार्थी, समुदाय र विज्ञलाई एकै ठाउँमा भेला गरी यस्तो कार्यक्रम आयोजना गरिएकोले यसबाट भरपुर लाभ लिन सबैलाई आग्रह गरे । कार्यक्रम वातावरण विज्ञानका सहायक प्राध्यापक ध्रुव आचार्यले सञ्चालन गरेका थिए ।

कार्यक्रममा बीबीए कार्यक्रम प्रमुख सागर अधिकारी, कर्मचारी संघका अध्यक्ष कृष्णप्रसाद भुसाल, विज्ञान विभागका बिभागीय सदस्यहरु, खैरहनी न.पा. वडा नं ३ सालघारी डिप बोरिङ उपभोक्ता समूहका सदस्यहरु, सहयोगी महिला साना किसान सहकारी संस्थाका पदाधिकारी, स्थानीय कृषक, क्याम्पसका बिएस्सीका विद्यार्थीहरु गरी करिब ९० जनाको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>