देश/प्रदेश

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा टिपर पुगे

Banner

हुम्ला, वैशाख १५-

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक हप्ता लगाएर ती टिपर सिमकोट पुगेका हुन् । सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलो पटक हुम्ला पुगेका टिपर र चालकलाई हिजो स्थानीयबासिन्दाले फूलमालाले स्वागत गरेका थिए ।

उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवश्यक १२ हजार डिजेल ढुवानी गर्ने क्रममा ती टिपर सिमकोट पुगेका हुन् । नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने छारे भिर सडकखण्ड पार गरेर दुईवटा टिपर सिमकोट पुग्न सफल भएका हुन् ।

नाम्खाको च्याछरा भिर छिचोल्ने जिम्बा लिएको ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रालिका प्रेम कार्कीका अनुसार कामका लागि डिजेल आवश्यक परेपछि टिपरमा पुर्‍याइएको हो । च्याछरा सडक निर्माणका लागि डिजेल नहुँदा काम रोकिएपछि जिल्ला प्रशासन र मन्त्रालयमा आग्रह गरेपछि छारे खण्डबाट नेपाली सेनाले टिपर गुड्नका लागि अनुमति दिएको थियो ।

छारे भिरबाट ती गाडी चल्न नदिएपछि तीन दिन स्याल्तडी बसेर विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र अनुमति प्राप्त भएको थियो । टिपरले खार्पुनाथ गाउँपालिकाको कर्णाली नदी पार गरेर पुगेका हुन् । नेपाली सेनाले छारे सडक खण्डबाट अन्य कुनै पनि गाडी र मानिसलाई आवतजावत गर्न दिएको छैन ।

उत्तरी नाम्खाको च्याछरा सडक छिचोल्न बाँकी रहेको १७ किलोमिटर सडकका लागि अझै ३० हजार डिजेल आवश्यक पर्नेछ । च्याछरा सडकखण्ड आउँदो असार १० गतेसम्म ठूला गाडी गुड्नसक्ने बनाउने लक्ष्य भए पनि आवश्यक सामग्रीको अभाव छ । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>