मनोरञ्जन
तीन दिनमै ५ करोड नाघ्यो दयाहाङ अभिनीत ‘कबड्डी ५’ को व्यापार

काठमाडौं, कात्तिक ९ –
दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को व्यापार पाँच करोड नाघेको छ। प्रदर्शनको तीन दिनमै यस फिल्मले ५ करोड २४ लाख ग्रस कलेक्सन गरेको हो।
निर्माणटिमले सोमबार फिल्मको कमाइ सार्वजनिक गरेको हो। यसअघिनै दुइदिनमै यस फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सुपरहिट फिल्म घोषणा गरिसकेको छ।
हिट फिल्मको शृंखला भएकाले अग्रिम बुकिङमा नै यस फिल्मको क्रेज व्यापक देखिएको थियो। दसैँको अवसरमा प्रदर्शन भएका तीन नेपाली फिल्म हुँदा समेत यस फिल्मले देशभर २ सय ४० हाराहारी शो पाएको थियो। शुक्रबारसहित शनिबार र आइतबार पनि फिल्मको शोहरु हाउसफुल भएका थिए। आज सोमबार पनि फिल्ममा दर्शकहरूको उत्साहजनक साथ छ।
यस फिल्ममा दयाहाङसहित मिरुना मगर, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ लगायतको अभिनय छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा रामबाबु गुरुङको निर्देशन रहेको छ। निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ।























