देश/प्रदेश

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

Banner

मान्म (कालीकोट), वैशाख १३-

कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगैँचा हो ।

शिक्षकसमेत रहनुभएका हमालले फोइमहादेवको दहचौरमा रहेको महादेव माध्यमिक विद्यालयको आठ हेक्टर जमिन लिजमा लिएर सञ्चालन गर्नुभएको नमूना स्याउ बगैँचामा फुजी, गाला र गोल्डेन जातका गरी ११ हजार स्याउका बिरुवा रोपिएका छन् ।

हमालले चुली कर्णाली एग्रो फार्म दर्ता गरेर नमूना स्याउ बगैँचा निर्माण गर्नुभएको हो । फोइमहादेव गाउँमा फुजी स्याउ उत्पादनको सम्भावना रहेको र स्याउबाट मनग्य आम्दानी लिन सकिने भएकाले आफूले शिक्षण पेशाबाट कमाएको पैसासमेत खर्च गरेर स्याउ बगैँचा निर्माण गरेको हमालले बताउनुभयो । ‘गाउँमै फुजी जातको स्याउको नमूना बगैँचा बनाएर उत्पादन सुरु गर्न थालेको छु”, उहाँले भन्नुभयो, “अहिले मैले लगाएको फुजी जातको स्याउले राम्रो उत्पादन दिन थालेपछि गाउँका अरुले समेत स्याउ रोप्न थाल्नुभएको छ ।”

वार्षिक रु दुई लाख ५० हजार महादेव माध्यमिक विद्यालयलाई भाडा तिरेर लिजमा लिएको जग्गामा अहिले थरिथरिका स्याउ फुलेको देख्दा आफूलाई खुसी लाग्ने गरेको हमालले बताउनुभयो । “बगैँचामा हालसम्म रु दुई करोड लगानी गरिसकेको छु”, उहाँले भन्नुभयो, “यस वर्षमात्र मैले पाँच हजार स्याउका बिरुवाबाट फल उत्पादन गर्ने लक्ष्य राखेको छु ।”

बगैँचा व्यवस्थापनका लागि स्याउ जोन जुम्ला कार्यालयबाट ५० प्रतिशत अनुदानमा रु ४२ लाखमात्र सहयोग पाएको हमालले बताउनुभयो । “स्याउ उत्पादनमा कालीकोटलाई चिनाउनु छ । बाँकी लगानीअनुसारको उत्पादनका लागि बगैँचा गोडमेलमा छौँ”, उहाँले भन्नुभयो, “यो स्याउ बगैँचामा दुई जनालाई निरन्तर रोजगारी दिएको छु ।”

तिलागुफाको फोइमहादेव गाउँमा धेरै किसानले स्याउ बगैँचा विस्तारका लागि कार्यालयबाट अनुदान लिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।

चुली कर्णाली एग्रो फार्मले सञ्चालन गरेको फोइमहादेवको दहचौर स्याउ बगैँचा जिल्लाकै नमूना बगैँचा रहेको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताउनुभयो । “यो बगैँचालाई आवश्यक थोपा सिँचाइ, स्याउमा लाग्ने रोग नियन्त्रणका लागि विषादिदेखि अन्य अनुदान सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो, “नमूना स्याउ बगैँचा निर्माण गरेर कालीकोटमा स्याउखेतीको सम्भावना राम्रो छ, भन्ने सन्देश दिएको छ ।”

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाका एक हजार तीन सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area