समाचार

कतारका अमिर भोलि नेपाल भ्रमणमा आउँदै, द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने

Banner

काठमाडौं, वैशाख १०-

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयले कतारका अमिर अल थानी नेपाल आउने’ आधिकारिक घोषणा सार्वजनिक गरेको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको हार्दिक निमन्त्रणामा कतार राज्यका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीले २३ र २४ अप्रिल (भोलि र पर्सी)मा नेपालको राजकीय भ्रमण गर्ने जनाएको छ ।

अमिरले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्नेछन् भने उनको सम्मानमा राजकीय भोजको आयोजना हुनेछ । उनले २४ अप्रिल अर्थात् बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

दुई मुलुकबीच विकास साझेदारीलगायतका एजेन्डामा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् । खाडी मुलुकबाटै पहिलोपटक राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको हो । नेपालीहरूको प्रमुख गन्तव्यमध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई मुलुकको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिएको छ ।

नेपाल र कतारबीचको श्रम सम्झौतालाई परिष्कृत गर्ने लगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ । आइतबारदेखि एसियाली मुलुकको औपचारिक भ्रमणमा निस्किएका अमिर फिलिपिन्स र बंगलादेशको भ्रमण सकेर मंगलबार काठमाडौं आउने कार्यक्रम रहेको छ । उनी बुधबारै स्वदेश फर्किनेछन् ।

कतारमा रहेका नेपालका कूटनीतिज्ञ तथा समाजका अग्रजहरू करिब वर्ष दिन अघिदेखि नै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको गृहकार्यमा जुटेका थिए । गत वर्ष २० र २१ कात्तिकमा हुने भनिएको अमिरको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>