राजनीति

कार्यकर्तालाई ओलीको निर्देशनः फेसबुकमा सकारात्मक कुरा मात्रै लेख्नू, नराम्रा कमेन्ट नगर्नू

Banner

काठमाडौं,चैत २९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका समस्यामा छलफल गरेर समाधान गर्नुपर्ने बताएका छन्। पार्टीभित्रका विवाद बाहिर ल्याएर अगाडि बढ्न नसकिने बताउँदै उनले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा जथाभावी नलेख्न पनि सुझाएका छन्।

नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले छिटो दौडँदैमा गन्तव्यमा पुग्न नसकिने पनि बताए। ओलीले योजनाबद्ध रूपमा अघि बढ्दै लयबद्ध र गतिशील पार्टी बनाएर मिसन २०८४ सफल बनाउनु पर्नेमा जोड दिए।

उनले कार्यकर्ताहरूलाई लेख्नै पर्ने कुरा भए सकारात्मक मात्रै लेख्न पनि सुझाए। ‘सामाजिक सञ्जालमा जथाभाबी नलेख्नू’, उनले कार्यकर्तालाई भने, ‘लेख्नै परे सकारात्मक कुरा मात्र फेसबुकमा लेख्नू।’उनले नकारात्मक कुरा र कमेन्टले समाजमा विकृति बढ्दै गएको बताए। ‘नकारात्मक कुरा लेख्ने र लाइक गर्ने तर सकारात्मक कुरामा लाइक, कमेन्ट केही नगर्ने थिति बढ्दै गएको छ’, उनले कार्यकर्तालाई सचेत गराउँदै भने, ‘नेता कार्यकर्ताले पार्टीभित्रका कुरा बाहिर ल्याएर नकारात्मक कुरा नलेख्नू, सकारात्मक कुरा मात्रै राख्नू।’

ओलीले ओलाङचुङ्गोला क्षेत्रमा निर्माण भइरहेको सडक छिटो निर्माण गर्नको लागि आफूले पहल गर्ने पनि बताए। तीन वर्षभित्रै चीनसँग जोडिने सो सडक पूरा गर्ने गरी बजेट छुट्याएर छिटो काम सम्पन्न गराउन आफूले प्रयत्न गर्ने ओलीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>