चितवन विशेष

भरतपुर महानगरद्वारा यस आर्थिक वर्षमा ८२ करोड बढी राजस्व संकलन

Banner

चितवन, चैत २८-

भरतपुर महानगरपालिको आयोजनामा मंगलबार आर्थिक वर्ष २०८०\८१ को दोस्रो चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ गरिएको छ ।
कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले जनतासँग प्रतिबद्धता गरे अनुरुपको काम क्रमशः पूरा हुँदै गएको बताएकी छन् । अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, विमानस्थल बिस्तार र नारायणीमा निर्माण हुने सिग्नेचर ब्रिज लगायतका कामले गति लिएको उनले बताइन् ।

यसमध्ये ल्याण्डफिल साइट निर्माण गर्ने कार्य बाँकी रहेको उल्लेख गरिन् । ल्याण्डफिल साइटको अहिले डीपीआर र इआईएको काम अन्तिम चरणमा रहेको उनले जानकारी दिइन् ।

महानगरपालिकाले दिगो फोहर व्यवस्थापनका लागि भरतपुर ११ मा रहेको जलदेवि सामुदायिक वनमा १६ बिघा क्षेत्रफलमा ल्याण्डफिल साइट निर्माण गर्न लागेको छ । अहिले स्थायी रुपमा भरतपुर–३ को नगर वन नजिकै फोहरलाई डम्पिङ गरिरहेको छ ।
मंगलबार भरतपुर–१४ को शिवनगरको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयमा एकाउन्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रकुमार रानाले दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।
कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए । सहभागीहरूले कृषि क्षेत्रमा देखिएका समस्या, फोहर व्यवस्थापन, सिँचाई, रुग्ण आयोजना, ड्रेनको निर्माण, स्वास्थ्य समस्या, सुकुमबासी समस्या, सार्वजनिक शौचालय, प्रतिक्षालयबारे प्रश्न सोधेका थिए ।
प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरिन् । महानगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्ने योजना अनुरूप अन्य कार्यहरु निर्वाध रुपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइट निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरिन् ।


भरतपुरको वडा नम्बर ३ मा अटो भिलेज निर्माण गर्न गुरुयोजना निर्माण भए पनि स्थानीयको अवरोधका कारण निर्माण हुन नसकेको उनले प्रष्ट पारिन् । भरतपुरको लागि अति महत्वपूर्ण आयोजना बधशाला निर्माणका लागि भरतपुर १ को ठिमुरा पहिचान गरी दातृ निकायको प्राविधिक सहयोग र संघीय सरकारबाट बजेटको सुनिश्चित गरे पनि त्यो स्थानमा स्थानीयको अवरोधपछि रोकिएको जानकारी दिइन् ।
महानगरपालिकाले सार्वजनिक सुनुवाईमार्फत आएका सुझावलाई ग्रहण गर्दै आगामी कार्यदिशा तय गर्ने पनि उल्लेख गरेको छ ।
यसैबीच महानगरले प्रस्तुत गरेको दोस्रो चौमासिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१\०८२ हालसम्म ८२ करोड ८७ लाख ४३ हजार १०९ रुपैयाँ राजस्व संकलन गरेको छ । यो प्रक्षेपण गरेको रकमको ४७ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको यही समयमा जम्मा ३९ करोड राजस्व संकलन गरेको थियो । यो २७ प्रतिशत हुन आँउछ । गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलनमा उल्लेखिय वृद्धि भएको तथ्याङले देखाएको छ ।
महानगरले हालसम्म कुल बजेटको ३६ प्रतिशत खर्च भएको जनाएको छ । आव २०८०\८१ का लागि ६ अर्ब ४१ करोड ७२ लाख २० प्रतिशत बजेट बिनियोजन गरेको थियो । त्यसमध्ये दुई अर्ब २६ करोड ४६ लाख ३० हजार खर्च भएको छ ।
महानगरले चालु बजेटतर्फ दुई अर्ब ६९ करोड ८ लाख ६४ हजार रुपैयाँ विनियोजन भएकोमा एक अर्ब ३४ करोड २२ लाख १९ हजार खर्च भएको जनाएको छ । जुन चालुतर्फको समग्र बजेटको ४९ प्रतिशत हो ।
यस्तै पुँजीगत बजेटतर्फ तीन अर्ब ७२ करोड ६३ लाख ६६ हजार रुपैयाँ बिनियोजन भएकोमा ९२ करोड २४ लाख ११ हजार खर्च भएको महानगरले जनाएको छ । जुन समग्र पुँजीको २५ प्रतिशत हो ।
महानगरपालिकाका कार्यकारी अधिकृत रानाले निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले पूँजीगत खर्च कम देखिएको बताए । अबको ४ महिनामा यो अहिलेको तुलनामा बढेर जाने स्पष्ट पारे । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले सहभागीले उठाएको प्रश्नको जवाफ दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>