खेलकुद

कपिलवस्तु गोल्डकप विजेता चितवनका खेलाडी र प्रशिक्षक सम्मानित

Banner

चितवन, चैत २७-

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप च्याम्पियन हानामी भरतपुर फुटबल क्लब (बिएफसी) का खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ ।

भरतपुरमा आज (मंगलबार) एक कार्यक्रमकाबीच क्लब र प्रायोजक हानामी इन्टरनेशनल एजुकेसनले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो ।

कार्यक्रममा गोल्डका सर्वोत्कृष्ट खेलाडी सुजित बुढाथोकी, क्लबका कप्तान तथा गोल्डकपको उत्कृष्ट डिफेन्डर अमृत श्रेष्ठ, उत्कृष्ट गोलरक्षक भविन्द्र मल्ल ठकुरी, उत्कृष्ट प्रशिक्षक धुर्व भुसाल, खेलाडीहरु सागर लामा, तेजेन्द्र चौधरीलगायतलाई सम्मान गरिएको हो । अन्य खेलाडी भने खेलका कारण कार्यक्रममा सहभागी हुन असमर्थ भए ।

सोही क्रममा वीरगन्जमा सम्पन्न डुम्बरवाना गोल्डकपमा उपविजेता भएका बिएफसीका खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । डुम्बरवाना गोल्डकपमा उपविजेता बनेको टिमका कप्तान मनोज गुरुङ, रोशन राना मगर, विवेक मगरलगायत सहभागी थिए ।
सम्मान कार्यक्रममा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बीएफसीले भरतपुरको नाम उच्च पारेको भन्दै खुसी व्यक्त गरे । उनले क्लब आफ्नै वडा भित्र पर्ने भन्दै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।

चितवन जिल्ला फुटबल क्लबका अध्यक्ष श्रीकृष्ण कार्कीले चितवनको फुटबल स्तर माथि पुगेको बताए । नेपालको ए डिभिजन क्लबलाई हराएर बीएफसीले यसलाई प्रमाणित गरेको बताए । यो जितको श्रेय खेलाडीहरुलाई जाने उनको भनाइ थियो । उनले क्लबका प्रशिक्षक भुसालको खुलेर प्रशंसा गरे ।

बीएफसीको प्रायोजक संस्था हानामीका प्रबन्ध निर्देशक किशोर सुवेदीले क्लबको थप प्रगतिको कामना गरे । उनले क्लबसँगको सहकार्य निरन्तर रहने बताए । सो क्रममा क्लबका प्रशिक्षक भुसालले आफ्नो टोली रणनीतिमा सफल भएको बताए । मछिन्द्र र नेपाल प्रहरी जस्तो ए डिभिजन क्लबलाई हराएर उपाधि जित्नु ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।

कपिलवस्तुमा सम्पन्न गोल्डकपमा विभागीय टोली नेपाल पुलिसलाई टाईब्रेकरमा हराउँदै बीएफसी च्याम्पियन बनेको हो । बिएफसीले उपाधिसहित ११ लाख ११ हजार १११ रुपैँया जितेको छ । बिएफसीका सुजित बुढाथोकी प्रतियोगिताभरको उत्कृष्ट खेलाडी भए । उनले एक लाख प्राप्त गरे । बीएफसीकै भविन्द्र मल्ल उत्कृष्ट गोलरक्षक, अमृत श्रेष्ठ उत्कृष्ट डिफेन्डर, ध्रुव भुसाल उत्कृष्ट प्रशिक्षक बने । उनीहरुले जनही २५\२५ हजार प्राप्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>