Breaking News

भरतपुर वरपरको वायुको गुणस्तर अत्यन्तै खराब, सावधानी अपनाउन अनुरोध

Banner

चितवन, चैत २७-

भरतपुर महानगर वरिपरीको वायुको गुणस्तर केही दिनदेखि अत्यन्तै खराब बनेको छ ।

वल्र्ड एयर पोलुसन रियल टायम एयर क्वालिटी इन्डेक्सका अनुसार भरतपुर महानगर वरिपरीको वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको हो ।

इन्डेक्सका अनुसार पछिल्लो केही दिनदेखि वायु प्रदूषण नेपालमा गम्भीर वातावरणीय चिन्ता र जनस्वास्थ्यमा जोखिम निम्त्याउने कारक बनेको छ । वायु प्रदूषणले विशेष गरी मानिसको फोक्सो र आँखामा समस्या हुन सक्ने तथा मुटुका रोगीहरूको समस्या पनि बढ्न सक्छ । श्वासप्रश्वाससम्बन्धी रोगीहरूलाई खराब वायुले सबैभन्दा धेरै असर गर्छ भने स्वस्थ व्यक्तिलाई पनि विभिन्न सङ्क्रमण निम्त्याउन सक्छ ।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) मा मापन गरिन्छ । दैनिक रुपमा बायुको गुणस्तर रिपोर्ट गर्ने सूचकांक एक्युआई हो । मुख्य पाँच बटा वायु प्रदूषण जस्तै (भू–स्तर ओजोन, कण प्रदूषण कण पदार्थ पनि भनिन्छ), कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड को औषतका आधारमा एक्युआई मापन गरिन्छ । चितवनका वातावरण विज्ञ ध्रुव आचार्यका अनुसार एक्युआई ०–५० लाई राम्रो, ५१–१०० मध्यम वा सामान्य प्रदूषण, १०१–१५० संबेदनशिल समूह (बच्चा, वृद्ध, बिरामी) का लागि अस्वस्थ, १५१–२०० सबै समूह वा जनसंख्याका लागि अस्वस्थ, २०१–३०० सबैकालागि धेरै अस्वस्थ, ३०१–४०० खतरायुक्त, तथा ४०१–५०० अति खतरायुक्त भनी वर्गीकरण गरिएको छ ।

चितवन जिल्लाको सौराहामा रहेको वायु प्रदूषण मापन केन्द्रको मर्मत कार्य चलिरहेको हुनाले अहिले यस मापन केन्द्रले वायुको गुणस्तर मापन गर्न सकेको छैन । वल्र्ड एयर पोलुसन रियल टाइम क्वालिटी इन्डेक्सकाअनुसार भरतपुर महानगरपालिका ७ कृष्णपुरमा रहेको मापन केन्द्रले २७२ एक्युआई तथा मंगलपुर फूलबारीमा रहेको मापन केन्द्रले ३७३ एक्यूआई रहेको देखाएको छ । यसको अर्थ बिगत केही दिन देखि भरतपुर वरपरको वायु प्रदूषणको अवस्था खतरायुक्त अवस्थामा पुगेको विज्ञ आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए । यसले सबै खालको जनसंख्यामा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पु¥याउन सक्छ ।

बायु प्रदूषण बढाउनमा विभिन्न कारणहरु रहेको भएता पनि अहिले नेपाल तथा भारतमा ब्यापक रुपमा लागेको बन डढेलो, सवारीसाधनबाट निस्कने धूलो, धुवाँ, खेतबारीमा रहेको झार तथा बनस्पति जलाउनु, निकुञ्ज वरपरको घाँसे मैदानमा लगाइएको डढेलो, उद्योग घन्दा बाट निस्कने कार्बनडाईअक्साईडलगायतका ग्याँस जिम्मेवार हुन सक्छन् । यसका साथै बायुमण्डल स्थिर रहँदा यो समस्या झन बढ्ने देखिन्छ ।

भरतपुर वरिपरी व्यापकरुपमा वायु प्रदूषण बढ्नुमा देशभर सबैतिर लागेको डेँडेलो नै जिम्मेवार रहेको वातावरण विज्ञ आचार्यले बताए । उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान निर्माणको लागि गरिएको नियन्त्रित डँडेलो र खेती गर्नको लागि खेतबारीमा गरिने डँडेलो प्रदूषणको मुख्य कारण बनेको छ । ’
प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनसमेत स्वास्थ्य अधिकारीहरुको सुझाव छ ।

भरतपुरका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले निरन्तर खोकीका बिरामीहरु अस्पतालमा आउने गरेको बताए । खोकी, छालाका एलर्जी, पेट गडबडी, क्यान्सर, आँखाका रोग, कपाल झर्ने रोग जस्ता रोगहरु वातावरणका कारणले देखिने गरको डा अधिकारीले बताए । उनले भने, ‘ वायु प्रदूषण बढेको अवस्थामा माक्स लगाउने, सनस्क्रिन प्रयोग गर्ने, लामो कपडा लगाउने, उमालेर पानी पिउने, बाहिर धेरै बेर नबस्ने जस्ता सावधानी अपनाउनुपर्छ । घर, भान्छाको फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’

प्रदूषणको असर बालबालिकामा देखिएकोले भरतपुर अस्पतालमा बिरामी बालबालिकाहरु बढिरहेका छन् । भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ डा किरण देवकोटाले बालबालिकामा निमोनिया, श्वासप्रश्वास, एलर्जी, आखाँमा संक्रमण देखिएको बताए । उनले बालबालिकालाई घरभित्र राख्नुपर्ने बताए । अहिले वार्षिक परीक्षा सकिएर प्राय बालबालिको विद्यालय बिदा भएकोले बाहिर घुम्ने डुल्ने काम बढी भइरहेको छ । उनले बाहिर निस्कनै परे माक्स लगाउन सुझाव दिए । केही दिन यता चितवनको वायुमण्डल तुवाँलोले भरिएको छ । वर्षभर हुने वायु प्रदूषणको ५० प्रतिशत हिस्सा अप्रिल महिनाले नै ओगट्ने विज्ञहरुले बताए ।

नेपालमा मुख्य गरी जाडो मौसम र हालको मौसम गरी दुई सिजनमा वायुको गुणस्तर घट्ने जोखिम हुन्छ । वायु प्रदूषणका कारण दिन प्रतिदिन मानव स्वास्थ्यमा असर पर्दछ । यस्तो अवस्थामा सकेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>