चितवन विशेष

स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा चितवनका ढकाल पुनः निर्वाचित

Banner

चितवन, चैत २६-

स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसीया) को अध्यक्षमा पुनः चितवनका सरोज ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

श्री कलेज अफ टेक्नोलोजी चितवनका कार्यकारी अध्यक्ष ढकाल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.शैलेसमणि पोखरेलले उद्घाटन गरेको एसियाको काठमाडौंमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनले ढकालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै उपकुलपति डा.पोखरेलले विश्वविद्यालय निजी क्याम्पसहरुलाई दिगो बनाउन सधैं प्रतिबद्ध रहेको भन्दै नेतृत्वको हिसाबले अध्यक्ष ढकालले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेलले निजी क्याम्पसहरुलाई मर्न नदिने बताए । पछिल्लो संक्रमणकालिन अवस्थामा खस्किएको शिक्षण संस्थालाई पुर्नताजगी दिन ढकालले योगदान पु–याएको भन्दै पुनः नेतृत्वका लागि आग्रह गरेपछि आफू अध्यक्ष बनेको ढकालले जानकारी दिए । समितिको महासचिवमा केएन शर्मा पुनः निर्वाचित भएका छन् ।

कार्यक्रममा पूर्वअध्यक्षहरुका तर्फबाट राजन खत्रीले पहिलो कार्यकालमा ढकालले उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त स्वास्थ्य संकायका क्याम्पसहरुको छाता संस्था एसिया हो । सरकार र चिकित्सा शिक्षा आयोगले नयाँ नीति बनाएसँगै देशैभरका क्याम्पसहरु प्रभावित भएर बन्द हुने अवस्थामा पुगेका छन् ।

ढकालको नेतृत्वमा गरिएको संघर्षपछि सरकारपछि हटेर एसियाको माग आंशिक सम्बोधन गरेको थियो । यससँगै क्याम्पसहरुका आंशिक समस्या समाधान भएका छन् । यो आन्दोलनलाई निर्णायक बनाउन पनि पुनः ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरिएको खत्रीले जानकारी दिए ।

एसियाभित्र ३४ वटा क्याम्पसहरु रहेका छन् । निर्वाचित भएपछि गृह जिल्ला चितवन आएका ढकाललाई आज श्री कलेज अफ टेक्नोलोजीले विशेष सम्मान गरेको छ । सो अवसरमा क्याम्पसका प्रिन्सिपल नन्दकिशोर भट्ट, भाइस प्रिन्सिपल बबिता घिमिरे (अधिकारी) लगायतले स्वागत गरेका छन् । सो अवसरमा क्याम्पसका शिक्षक, कर्मचारी र विद्यार्थीको उपस्थिति थियो ।
भरतपुरको नेशनल सिटी अस्पतालका सञ्चालक समेत रहेका ढकालले देशभरका क्याम्पसहरुलाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउने गरी सरकार र आयोगलाई दबाब दिने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । देशभित्रका क्याम्पसहरु बन्द हुने र यहाँका विद्यार्थी विदेश पलायन हुँदा अरबौं रुपैयाँ बाहिरिएको भन्दै यसलाई रोक्न सरकार लाग्नुपर्ने उनले बताए । यस्तै अवस्थामा रहेमा केही वर्षभित्र नेपालमा स्वास्थ्यको जनशक्ति अभाव हुने उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>