समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३५ हजार नाघ्यो

०
Banner

काठमाडौँ, चैत २६-

साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एक महिनादेखि लगातार बढ्दै गएको सुनको मूल्यले आइतबार पुनः नयाँ रेकर्ड कायम गरेको हो ।

एकै दिन तोलामा दुई हजार नौ सय रुपियाँले बढेर प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत बिहीबार एक लाख ३४ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार घटेर एक लाख ३३ हजार रुपियाँमा पुगेको थियो । आइतबार आएर पुनः बढेर एक लाख ३५ हजार ६०० रुपैयाँमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्ने गर्छ ।

महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा भएको मुद्रास्फीतिका कारणले सुनको मूल्य एक्कासि बढ्न गएको जानकारी दिए । एक महिनादेखि निरन्तर सुनको मूल्य बढ्दै गएकाले आगामी दिनमा थप मूल्य बढ्ने देखिएको उनले बताए ।

‘अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदा सुनको मूल्य घट्नुपर्ने भए पनि लगातार मूल्य बढ्दै गयो, उनले भने, ‘विश्व बजारमा केन्द्रीय बैङ्कहरूले क्रयशक्ति बचाउन सुनको रिजर्भ बढाएका कारणले गर्दा पनि मूल्य बढ्न गएको देखिन्छ ।’ सुरक्षित लगानीको क्षेत्र सुन मानिएकाले पनि लगानीकर्ता आकर्षित भई लगानी बढाउँदै गएपछि मूल्य निरन्तर बढ्दै गएको उनको भनाइ छ ।

छिमेकी मुलुक भारत र चीनले समेत सुनको खरिद बढाउँदै गएको उनको भनाइ छ । एक महिनाअघिदेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ, अन्तर्राष्ट्रिय बजार हेर्दा सुनको मूल्य अझै बढेर एक लाख ५० हजार रुपियाँसम्म पुग्ने अनुमान गरिएको शाक्यको भनाइ छ । लगातार मूल्य बढ्दै गएपछि सुनचाँदीको कारोबार ठप्प अवस्थामा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>