राजनीति
इलाम–२ र बझाङ १(क) मा कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने

काठमाडौं, चैत २१-
उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुंगो लगाउन आज पनि नेपाली कांग्रेसको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
हिजो बसेको बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि आज पुनः बस्न लागेको हो। कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
कार्यसम्पादन समितिले उम्मेदवार टुंगो लगाएपछि दिउँसो ४ बजे अनुमोदनका लागि संसदिय बोर्डको बैठक बस्ने तय भएको छ। उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कांग्रेसमा विवाद छ।
सभापति शेरबहादुर देउवाले राखेको प्रस्तावमा शेखर कोइराला–गगन थापा पक्षले असहमति जनाएपछि हिजो बैठक विना निश्कर्ष सकिएको थियो। इलाम–२ का लागि ७ र बझाङ १ (क)का लागि १० जनाको नाम सिफारिस भएको छ।
आगामी वैशाख १५ गते प्रतिनिधि सभा इलाम क्षेत्र–२ र प्रदेश सभा बझाङ १ (क) मा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ।

























