राजनीति
उम्मेदवार छनोटबारे कांग्रेसमा विवाद, देउवा नमानेपछि शेखर बैठक छाडेर हिँडे

काठमाडौं,चैत २०-
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभाका लागि हुन लागेको उपनिर्वाचनको उम्मेदवार छनोटलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद भएको छ। मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकमा उम्मेदवार चयनको विषयमा विवाद भएको हो।
खास गरी सभापति देउवा र नेता डा। शेखर कोइरालाबीच इलाम २ का लागि उम्मेदवार छनोटमा विवाद भएको हो। बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि संसदीय बोर्डको बैठक बसेको थियो। जहाँ सभापति देउवादेखि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासमेत सहभागी थिए।
स्रोतका अनुसार इलाम उपनिर्वाचनका लागि जिल्ला कार्यसमितिबाट सिफारिसमध्ये देउवा र उपसभापति खड्का २०७९ को निर्वाचनमा पराजित डम्बर खड्कालाई टिकट दिनुपर्ने पक्षमा थिए। तर, उता महामन्त्रीद्वयले भेषराज आचार्यले चुनाव जित्ने सम्भावना बलियो रहेकाले उनैलाई टिकट दिनुपर्ने अडान राखेका थिए। भेषराजलाई टिकट दिनुपर्ने दुवै महामन्त्रीको प्रस्तावलाई देउवाले अस्वीकार गरेपछि कार्यसम्पादन समितिको बैठक कुरिरहेका नेता शेखर कोइराला छिरे।
महामन्त्री थापा स्थानीय समितिको रिपोर्टका आधारमा पनि भेषराजलाई टिकट दिनुपर्ने कुरा देउवाले नसुनेको भन्दै निस्किएपछि छिरेका शेखरले पनि आफ्ना कुरा राखे। दिउँसो २ बजेबाट हुने भनिएको कार्यसम्पादन बैठकअघिको संसदीय बोर्ड बैठकस्थलमा पुगेर डा.कोइरालाले तल्लो समिति र महामन्त्रीहरूले समेत भेषराजले जित्ने सम्भावना रहेको बताइरहेको कुरालाई देउवाले अस्वीकार गरेको भन्दै आपत्ति जनाए।

























