समाचार
तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं, चैत १९-
२०८३ असारभित्र सम्पन्न हुने लक्ष्य लिइएको तनहुँ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।
रिसिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो ।
५० करोड ५० लाख अमेरिकी डलरको लागतमा निर्माण भइरहेको सो आयोजनाबाट १ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । मुख्य सुरुङको व्यास ७ दशमलव ४ मिटर रहने र अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिने बताइएको छ । मुख्य सुरुङबाट गएको पानीलाई २ सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने आयोजनाले जनाएको छ ।
नेपालमा कुलेखानीपछि दूधकोशी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना बनाउने क्रममा रहेका छन् । सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल मिलाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने अपेक्षा गरिएको छ ।
आयोजनाको मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ब्रेक थ्रु गरी आयोजनाका मुख्य माइलस्टोनहरू पूरा भएको आयोजनाले जनाएको छ ।
आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न १ सय २६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माण गर्ने पनि लक्ष्य लिइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।























