राजनीति
२०८४ को निर्वाचनमा एमाले कसैको बैशाखी टेक्दैनः उपाध्यक्ष ज्ञवाली

सल्यान, चैत्र १८-
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले २०८४ को निर्वाचनमा एमाले कसैको बैशाखी नटेक्ने दाबी गरेका छन् ।
सल्यानमा एमालेको १० औं जिल्ला अधिवेशन उद्घाटनका अवसरमा बोल्दै नेता ज्ञवालीले एमाले एक्लै निर्वाचनमा जाने बताएका हुन् । उनले भने, ‘अहिले सरकारमा कम्युनिष्ट गठबन्धन छ । यो हाम्रो चाहना हैन । देशको आवश्यकता हो । अहिले गठबन्धन गरेका दल भोलिका दिनसम्म यही अवस्थामा रहन्छन् भन्ने छैन । एमाले पार्टी आफैमा बलियो पार्टी हो । त्यही भएर ८४ को निर्वाचनमा गठबन्धन गर्दैन ।’
उनले आउँदो निर्वाचनमा माओवादी केन्द्रका नेता पुष्पकमल दाहालको पछि समेत नलाग्ने दाबी गरे । आउने निर्वाचनमा पहिलो पार्टी भएर देखाउन सक्रिय हुनुपर्ने उनको भनाइ छ । देशको विकास र समृद्धिका लागि गठबन्धन गरेको अहिलेको सरकार ८४ सम्म टिक्ने उनले बताए । एमाले सचिव तथा कर्णाली प्रदेश ईन्चार्ज लेखराज भट्टले समाजवादको लक्ष्य प्राप्तिका लागि पार्टीको आन्तरिक द्वन्द्वलाई अन्त्य गर्न आवश्यक रहेको बताए । आन्तरिक द्वन्द्व अन्त्य भए एमाले सबैभन्दा ठूलो पार्टी हुने उनको दाबी छ ।

























