चितवन विशेष

राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई भरतपुर महानगरले गर्‍यो स्वागत तथा सम्मान

Banner

चितवन, चैत १३-

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।

आज मंगलबार महानगरपालिका सभाहलमा एक कार्यक्रम गरेर अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान गरेको हो ।

फागुन २९ गते राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष दाहाल पहिलो पटक गृह जिल्ला चितवन आइपुगेका छन् । सम्मान कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो पार्ने गरी काम गर्ने उल्लेख गरे ।

संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानुन निर्माण गर्न राष्ट्रिय सभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे । ‘अहिले संविधान कार्यान्वनको चरणमा छ’, उनले भने,‘केही महत्वपूर्ण ऐन, कानुनहरु निर्माण हुन बाँकी छन् । ऐन कानुनहरु नबन्दा काम गर्नलाई गारो भइरहेको छ । निजामति ऐन, प्रहरी समायोजन ऐन तथा टिआरसी सम्बन्धी कानुन छिटो निर्माण गर्न जरुरी रहेको छ ।’
अध्यक्ष दाहालले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएसँगै देश निर्माणको अभियानमा बढ्न थप जिम्मेवार बन्नुपर्ने अवस्था आएको उनको भनाइ छ । यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरले सम्माननीय प्रधानमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र माननीय उपप्रधान तथा गृहमन्त्री पाउनु आफैमा गर्वको विषय भएको बताइन् । इतिहासमा यस्तो अवसर बिरलै मात्रमा पाइने भएकाले यो अवसर र चुनौती दुबै भएको उनको भनाइ छ ।

प्रमुख दाहालले राष्ट्रियसभा अध्यक्षले संविधानको रक्षा, यसको सही कार्यान्वन र जनताको पक्ष राम्रोभन्दा राम्रो काम गर्न शुभकामना व्यक्त गरिन् । उनले हिजोका दिनमा स्थानीय तहमा देखिएको ऐन कानुन सम्बन्धी कठिनाइलाई पन्छयाउनलाई समन्वयात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन् ।

चितवन जिल्लालाई वैकल्पिक राजधानी बनाउन नसकिए पनि आर्थिक राजधानीको रुपमा विकास गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको उनले बताइन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>