साहित्य

लमजुङ, गोरखा तथा चितवनको भूगोल बोल्ने समयको अभिलेख पौडेलको कृति ‘अन्तिम रात’

पुस्तक समीक्षा:

Banner

रमाकान्त सापकोटा

पृष्ठभूमि र सान्दर्भिकता:

२०८० चैत ११ गते अर्थात् कृतिकारको ६९ औं शुभजन्मोत्सवको दुई दिन अगाडि आइतबार लोकार्पण भएको ‘अन्तिम रात’ नामको कृति लीलाधर पौडेलको नविनतम कृति हो । यो सस्मरण संग्रहको रुपमा आएको छ । संस्मरण पनि निबन्ध नै हो तापनि यस्तो संस्मरण आफूले देखे भोगेकै कुराका आधारमा लेखिने भएकाले यसका लागि थप अध्ययन अनुसन्धानको टन्टा हुँदैन । संस्मरण सत्य घटनामा आधारित आफ्नो जीवन कथा हो । जसको कथावस्तु, पात्र, द्वन्द्व केही खोज्न ,जुटाउन पर्दैन । संस्मरण आफू बाँचेको समयको अभिलेख हो, समाजशास्त्र हो, समकालीन साथीहरू, आफन्तलाई पारिवारिक इतिहास पनि हो र भावी पुस्तालाई बहुउपयोगी बौद्धिक सम्पत्ति हो । यो कृति यही मान्यतामा आएको छ ।

बाल्यकाल सबैको हुन्छ , दुःखसुख सबैले एक न एक किसिमले भोगेकै हुन्छन् । तर, जीवनका पृष्ठभूमि, सपना, परिवेश, संघर्षहरू , दृष्टिकोण तथा मूल्य प्रणालीहरू बेग्ला बेग्लै हुन्छन् । आफ्नो जीवनका भोगाइहरू आफूले बाहेक अरुले लेखेर यथार्थसँग मेल खाँदैनन् । आफ्ना भोगाई अरुलाई सुनाउने ,लेख्ने सबैलाई रहर हुन्छ । हेर्दा सुन्दा सजिलो जस्तो पनि लाग्छ तर मुख चले जस्तो गरी सबैको हात ÷ कलम चल्दैन । लेखेर राखेका कुरा पनि प्रकाशन गर्न सजिलो छैन । जसले लेख्छन् र प्रकाशन पनि गर्दछन ती थोरै हुन्छन र कृतिकारमा दर्ज हुन्छन् । ‘अन्तिम रात’ नामक संस्मरणले ३७ वर्ष शिक्षण सेवा गरेका लिला सरलाई अब कृतिकारको सूचीमा दर्ज गरेको छ । निकट भविष्यमा दुईवटा उपन्यास प्रकाशन गर्ने उत्साह र योजना देखिनुले लेखकको आगामी समय कृतिमय हुने देखिएको छ ।

अन्तिम रात कुन थियो ? कस्तो थियो ? २०७३ कात्तिक १४ गते तिहारको लक्ष्मीपूजाको रात आन्तिम रात थियो । त्यो रातको निन्द्रा आँसुका धारामा बदलिएको रात थियो । लमजुङ, बिचौर , तिलबारी रहँदा पौडेल्नी साइँली र चितवन पटिहानी, ब्रह्मपुरीकी साइँली आमा गोमादेबी पौडेल कहिल्यै नउठ्ने गरी चिरनिद्रामा परेको रात थियो । संसारको सबैभन्दा सुरक्षित र न्यानो कोख दिएको ८९ वर्षीय इतिहास ढलेर तुलसीको मठ अगाडि सुतेको रात थियो त्यो अन्तिम रात । शून्य थप्दै जाँदा संख्या ठूलो हुँदै गए जस्तै उमेर बढ्दै जाने र प्रकृतिमा रहेका हरेक सृष्टिको अन्तिम रात वृहत् शून्यमा बिलाउने जीवन दर्शनलाई समातेर यो पुस्तकको नामाकरण भएको छ । आफ्नी माताप्रतिको सम्मान र स्मृतिमा यो कृति तयार भएको छ ।

कृतिको अन्तरवस्तुः

स्व.माता गोमादेवी पौडेल तथा माता भन्दा २१ वर्ष ३ महिना ८ दिन अगाडि (२०५२ साउन ६ गते) दिवंगत पिता स्व. मायानाथ पौडेलप्रति सादर समर्पण गरिएको यो कृति कृतिकार कै जीवन संगिनी सुमित्रा पौडेलले प्रकाशन गर्नुभएको छ । लेखकले आफ्नो भन्नु शीर्षकमा शुद्धाशुद्धी देखि पुस्तक बनाउन सहयोग गरेकोमा बहुआयामिक स्रष्टा दाजु रविकिरण निर्जीवलाई आभार व्यक्त गर्नु भएकोबाट बुझ्न सकिन्छ कि यसको सम्पादन गर्ने काम रविकिरण निर्जीवले गर्नुभएको छ । त्यस्तै गरी लेखकका मामा यदुनाथ भट्टराईले भाषिक शुद्धताका साथै उर्जा थपेको , छोराछोरी, बुहारी ,नातिनातिनी र विशेष गरी नाति संयक, छोरा राजु लगायत परिवारका सदस्य र आफन्त, साथीभाईहरु यो कृतिको पृष्ठभूमिमा रहेका महत्वपूर्ण पात्र हुन् जो यो पुस्तक प्रकाशनमा उत्प्रेरकको रुपमा प्रस्तुत छन् । निक द डिजाइनर नारायणगढका दीपेन्द्रकुमार जोशी ‘निक’ र सुमिना जोशीले आवरण डिजाइन तथा कम्पुटर कार्य तथा क्वालिटी प्रिन्टर्स द्वारा मुद्रण भएको, वाह्य पृष्ठ ४ अग्रभाग १८ पृष्ठ, मुख्य भाग ११८ पृष्ठ गरी जम्मा १४० पृष्ठ भएको यो पुस्तकको मूल्य ३०१ रुपैयाँ रहेको छ र सर्वाधिकार÷कपिराइट लेखकमा सुरक्षित छ ।

कुनै सिर्जनामाथि पाठकीय दृष्टिकोण नै समीक्षा हो । प्रकाशक सुमित्रा पौडेल, शुभकामनाको रुपमा भूमिका लेख्ने सर्जकहरू रविकिरण निर्जीव, यदुनाथ भट्टराई र लेखकको लेखकीयमा नै यो पुस्तकको परिचयात्मक जानकारी, सीमा र सन्देश, भाषिक कला र आलंकारिकता, अभिव्यक्ति समेतका आधारमा सर्वेक्षण, परिचर्चासहित संक्षिप्त समीक्षा भएको छ । प्रकाशकको कलम अनुसार ५२ वर्षको सहयात्रामा नखुलेका कुरा यसमा खुलेका छन् । सुमित्राको पढाईमा जस्तो ब्रेक नलागे पनि लेखकको जीवन ब्रेक लागे जस्तै थियो तर साहसका साथ अघि बढेको भन्ने भनाइ यो पुस्तकका २१ वटा संस्मरणको सूचीभित्रबाट पुष्टि भएको छ । रविकिरणका अनुसार शिक्षक हुँदा सम्म खुब बोल्ने गरेका लीलाधरको अब अतित केन्द्रित लेखन कार्य सूचारु छ । रविकिरणले भने जस्तै यो पुस्तकमा स्मृति शक्ति मज्जाले फिजिएको छ । एउटा मानिसको जीवन आँफैमा महाकाव्य,उपन्यास, कथा , निबन्ध र नाटकलगायत सकल विधाको संयोजन हो भनी यदुनाथ भट्टराईले गरेको चर्चा पुस्तक पढे पछि पुष्टि हुनेछ । भट्टराईले भने जस्तै यो पुस्तकले लमजुङ, गोरखा तथा चितवनको भूगोल बोलेको छ । आफ्नो भन्नु शीर्षकमा लेखक आँफैले यो पुस्तकको समीक्षा गरेको जस्तो देखिन्छ्र लेखकले जीवन र संघर्षको परिभाषा जसरी गर्नुभएको छ त्यो निकै सान्दर्भिक छ र व्यक्तिको विचारको आधारमा जीवन परिभाषित छ । ‘जसले जसरी जोडे पनि जिउने कला, सीप, संघर्ष र सेवाको संयुक्त रुप नै जीवन हो । बाँच्नलाई गरिने संघर्ष नै सबैभन्दा ठूलो संघर्ष हो ।’ यो परिभाषा लेखकको अनुभवको निचोडको रुपमा छ्र । सामाजिक चित्र छर्लङ्ग्याउन लेखक, साहित्यकारबाट जति सम्भव छ अरुबाट नहुने रहेछ भन्ने अनुभूतिबाट यो कृति प्रेरित छ ।

पुस्तकका पात्र मार्फत नेपाली समाजको परम्परा ,संस्कृति, जीवनशैलीको मौलिक स्वरूप बोलेको छ । संस्मरणको सूचीमा –बाँच्ने नाम भोटे , ढाडे खर्क ,जुठोमा पढ्न हुँदैन ,बख्खु ओढ्ने रहर ,चैते बाँदर र बिरुवाको खोल्छा, छाड्दे चमारे छाड्दे , कस्ता मानिसले धेरै खान सक्छन् ? असिना पानी र कण्ठा भैसी, मामाको ओखती , बेरुवा औंठी , पहिलो पटक कुखुराको मासु खाँदा , मकै चोर र सिपाही, जहाज र मोटर चढ्ने भाग्यमानी, पिताजीको उपचार , छोडिएका अवसरहरू, गोठको कार, छोरीको बिहे, आत्मगौरव, जागिरको ३७ वर्ष, अन्तिम रात र जन्मस्थल गरी २१ वटा उत्सुकता जगाउने शीर्षक समावेश छन् । आफ्नो नाम भोटे कसरी रहेको थियो भन्ने सवालमा हजुरआमा लोकुमायाले बताएको कथा, ढाडे खर्कमा जाँदा एकै दिन ब्वाँसो भालु र निगालाको बारेमा आमाले दिएको शिक्षा, बख्खु ओड्ने रहरले केयरसिंहकोमा एक्लै जाँदा कुकुरको आँखा फुटाएका जस्ता घटनाहरू सिनेमाका कथा तथा उपन्यासको शैलीमा छन् । यतिका कुरा कसरी सम्झना सम्भव भए होला जस्तो पनि देखिन्छ । कतिपय संस्मरणहरू एकादेशका दन्त्य कथा जस्ता पनि छन् । पिताजीको उपचार, मामाको ओखती जस्ता शीर्षकमा त्यो बेलाको उपचार पद्दति, आर्थिक अभावको पीडालगायत मानवीय संघर्षका विभिन्न मोडहरू चित्रित छन् । झुटलाई सत्य बनाउन सफल भएका हँसाउने खालका संस्मरण तथा रुढीवादी कुराहरू पनि प्रसस्त छन् । लेखकको कलम स्वतन्त्रतापूर्वक चलेको छ र आफ्नो मन छोएका राम्रा–नराम्रा कुरा सम्झनाका आधारमा सरसर्ती लेख्दै जाँदा यो रोचक कृति तयार भएको छ ।

झण्डै सात दशक लामो नेपाली समाजको स्वरूप र त्योसँग जोडिएर पौडेलको जीवनका भोगाइहरु मिसिएर निस्केको यो संस्मरण संगालो , डायरी सहित जीवनीको रुपमा छ । परिवार ,आफन्त ,समकालीन साथीभाईहरुको लागि यो कृति पारिवारिक इतिहास हो , रोचक घटनाहरू को संस्मरण हो । यसमा लेखक र सन्ततीको लागि समेत गौरव अनुभूति हुने थुप्रै विषयहरू छन् । युगको÷ समयको अर्थ–सामाजिक अवस्थाको अध्ययन गर्नको लागि पनि पुस्तक उपयोगी र संग्रहणीय छ । लिलाधर पौडेल तथा उहाँको परिवारको भावी जीवन सुखद र क्रियाशील रहोस् भन्ने शुभकामना अर्पण गर्दछु । आगामी समय कृतिमय हुने अपेक्षा गरेको छु ।

 

(भरतपुर निवासी समीक्षक सापकोटा शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार तथा निवृत्त शिक्षक हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>