समाचार
घरमा मिलेर बस्ने ४२ जोडी सम्मानित

कपिलवस्तु, चैत्र ०८-
५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मुलन दिवसको अवसरमा कपिलवस्तुका ४२ उत्कृष्ट जोडीलाई सम्मान गरिएको छ।
दलित सामाजिक विकास केन्द्रले दिवसको अवसरमा कपिलवस्तु नगरपालिका– ५ डगरीमा राखेको अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई दोसल्ला सहित प्रेसर कुकर प्रदान गरी सम्मान गरेको हो।
संस्थाद्वारा सञ्चालित जीवन सुधार परियोजना अन्तर्गत गठन भएका ३२ समूहका जोडी र हाम्रो पहुँच परियोजनाका १० जोडीलाई सम्मान गरिएको थियो। आफ्नो घरमा कुनै विभेद नगरी छोरा छोरीलाई समान व्यवहार गरेको, भेदभाव नगरेको र श्रीमान् श्रीमती समेत मिलेर बसेको जोडीलाई सम्मान गरिएको संस्थाको निर्देशक रामशरण रैदासले बताए।
जिल्ला समन्वय समितिका उप(प्रमुख रमेश कुर्मीले जोडिलाई सम्मान गर्दै कलंककारुपमा रहेको जातीय विभेदलाई जरै देखि उन्मुलन गर्नुपर्नेमा जोड दिए।
उनले जातपातका कारण अझै पनि समाजमा धेरे समस्याहरू उत्पन्न भएकाले यसलाईइ निर्मूल पार्न सबैले प्रयास गर्नुपर्ने बताए। पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले अझै पनि समाजमा जातीय विभेद र छुवाछुत कायम रहेकोले यसलाई हटाउन समाजका अगुवाहरू नै अग्रसर हुनु पर्ने बताए।
उनले जातीय विभेद गर्नेलाई कानुन अनुसार कारबाही गर्नुपर्ने र समाजमा सचेतनाको कार्यक्रम ल्याउनुपर्ने बताए। कार्यक्रममा संस्थाका निर्देशक रामशरण रैदासले कार्यपत्र समेत प्रस्तुत गरेको थिए।























