खेलकुद

सेन्ट्रल कलेज दोस्रो बखान च्याम्पियनसिपको उपाधि रामपुरलाई

Banner

चितवन, चैत ६-

सेन्ट्रल कलेज दोस्रो बखान च्याम्पियनसिप फुटबलको उपाधि रामपुर फुटबल क्लब रड्सले जितेको छ । सोमबार बखान मिनी रंगशालामा भएको प्रतियोगिताको फाइनल खेलमा रामपुरले पार्वतीपुर युनाइटेडलाई एक गोलले पराजित गरेको हो । रामपुरका बिक्की चामलिङ राईले गरेको गोल नै फाइनल प्रतियोगितामा निर्णायक बनेको छ ।

गत फागुन १९ गतेबाट सुरु भएको प्रतियोगितामा १९ वटा टिम सहभागी रहेका थिए । प्रतियोगिताको बिजेता रामपुर फुटबल क्लब रड्सले नगद पुरस्कार दुई लाख रुपैयाँ र उपविजेता पार्वतीपुर युनाइटेडले एक लाख रुपैयाँसहित सिल्ड र प्रमाणपत्र जितेको छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट डिफेन्डरको उपाधि रामपुर रड्सका देव गुरुङ, उत्कृष्ट मिडफिल्डरमा रामपुरकै दिपेस गुरुङ र उत्कृष्ट गोल रक्षकमा सोही क्लबका सुरेश तामाङले जितेका छन् । प्रतियोगितामा हाइस्कोरमा रामपुरका बिक्की चामलिङ राई र प्रतियोगितामा पार्वतीपुर युनाइटेडका सरोज थोकर उत्कृष्ट खेलाडी बनेका छन् । उनीहरुलाई जनही पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री जेएन थपलियाले विजेता खेलाडी र क्लबलाई पदक प्रदान गर्नुभयो । सो अवसरमा उहाँले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले खेल क्षेत्रमा सेन्ट्रल कलेजले गरिरहेको सहयोगको प्रशंसा गर्दै अन्य व्यवसायीक प्रतिष्ठानहरुलाई खेल क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

युवा तथा खेलकुद विकास समिति शारदानगर र भूपू सैनिक कल्याण संस्थाले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितालाई सेन्ट्रल कलेजले प्रायोजन र चितवन जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको थियो । समापन कार्यक्रममा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेलले सेन्ट्रल कलेजले जिल्लाका अधिकांस खेल प्रतियोगिताहरुको प्रायोजन गरेर सहकार्य गरिरहेको बताउनुभयो । उहाँले उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा र सही परामर्श प्रदान गरिरहेको भन्दै सेन्ट्रल कलेज सबैको सुख दुःखको साथी भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>