अन्तर्राष्ट्रिय

अफगानिस्तानको सडक दुर्घटनामा परी २१ जनाको मृत्यु, ३८ घाइते

Banner

काबुल, चैत ४-

अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार एउटा बस र तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु हुनाका साथै ३८ जना घाइते भएका प्रान्तीय अधिकारीले बताएका छन् ।

हेरात शहरबाट राजधानी काबुलतर्फ जाँदै गरेको यात्रुबाहक बस दुई जना सवार मोटरसाइकलसँग ठोक्किँदा दुवै जनाको मृत्यु भएको हेलमान्डस्थित ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । त्यसैगरी, दक्षिणी शहर कान्दाहारबाट हेराततर्फ जाँदै गरेको तेल ट्याङ्करसँग बस ठोक्किँदा दुबै सवारी साधनको गति अनियन्त्रित भई दुर्घटना हुनपुगेको हो ।

अफगानिस्तानमा खराब सडक, चालकको लापर्बाही र सडक कानुनको नियमनको कमीका कारण बर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् । प्रान्तीय सूचना विभागले सामाजिक सञ्जाल ‘एक्स’ मा पोष्ट गरेको विज्ञप्तिमा भनिएको छ, “आइतबार बिहान एउटा ट्याङ्कर, मोटरसाइकल र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।”

हेल्मान्ड प्रान्तको ग्रिस्क जिल्लामा हेरात–कान्दाहार राजमार्गमा उक्त दुर्घटना भएको हो ।

हेलमान्डको गभर्नर कार्यालयका प्रवक्ता मोहम्मद कासिम रियाजले एएफपीलाई बताएअनुसार उक्त दुर्घटनाका कारण ती सवारी साधनहरू जलेका थिए । सूचना विभागले सामाजिक सञ्जालमा साझा गरेको तस्बिरमा राजमार्गमा छरिएर रहेका मृतक र जलेका गाडीका अवशेष देख्न सकिन्छ ।

अधिकारीका अनुसार अहिले उद्धार तथा सफाईकर्मीहरूलाई भग्नावशेष हटाउने काममा लगाइएको छ । घाइतेमध्ये ११ जना गम्भीर घाइते भएका छन् भने २७ जना सामान्य घाइते भएका छन् ।

सन् २०२२ डिसेम्बरमा अफगानिस्तानको उच्च पहाडी क्षेत्र ‘सलाङ पास’ मा तेल ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनाका साथै दर्जनौँ घाइते भएका थिए । रासस/एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>