समाचार
अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी मानकुमारीविरुद्ध अपहरणको मुद्दा दर्ता

काठमाडौं, चैत ४-
बच्चा चोरीको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध अपहरणको मुद्दा दर्ता भएको छ । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरीको आरोपमा दैलेखको महाबु गाउँपालिका–६ कि मानकुमारी सिंहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा मानकुमारीको बयान भइरहेको छ । काठमाडौंको कागेश्वर मनोहरा बस्दै आएकी २७ वर्षीया मानकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डीएसपी अंगुर जिसीले बताए ।
मानकुमारीले अपहरण तथा शरीर बन्धकको कसुर गरेको भन्दै मुलुकी फौजदारी अपराध संहिताको दफा २१३ बमोजिम सजाय माग दाबी गरिएको छ ।
११ फागुनमा १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मानकुमारीले चोरी गरेर लगेको आरोप छ । प्रहरीले सोही राति १२ बजेतिर काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो भने शिशुको उद्दार गरेको थियो ।






















