स्वास्थ्य

जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणमा समस्या – प्रधानमन्त्री

Banner

काठमाडौँ, चैत १ –

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिँदै गएको बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ( नास्ट ) ले आज यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिएको बताउनुभयो ।

“जलवायु परिवर्तनबाट समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपका घटना उत्पन्न हुँदै गएका छन्, सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत् रणनीति आवश्यक छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरबाट देखिएको स्वास्थ्य प्रणाली र समुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीन खोज र स्थानीय ज्ञानको उपयोगमा लाग्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनको असर विश्वका हरेक कुनाकुनामा देखा परेको उल्लेख गर्दै उहाँले यसको समाधानका लागि साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।

“जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन्, एक दशमलव पाँच डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीयरूपमा घटाउनुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभई त्यसका परिणाम ज्यादै महत्वपूर्ण भएको उहाँको भनाइ थियो ।

जलवायु परिवर्तनको असरका कारण पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको विस्फोट तथा खडेरी बारम्बार र भयावह हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस्ता प्रकोपले गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा परेका बताउनुभयो । पछिल्लो प्रतिवेदनअनुसार प्राकृतिक हिमशृङ्खला र विश्वव्यापी स्रोत एकतिहाइ गुमेको उहाँले बताउनुभयो । यस्ता हानिनोक्सानीले जैविक विविधतालाई मात्र नभई तटीय क्षेत्रमा रहेका अर्बौं मानिसको जीविकोपार्जनलाई समेत खतरामा पारेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । युनाइटेड अरब इमिरेटस् ( युएई )को दुबईमा सम्पन्न कोप–२८ देखि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालगायतका अन्तर्राष्ट्रिय मञ्चमा आफूले जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकले भोग्नुपरेका अनेक चुनौतीका विषयमा वकालत गर्दै आएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जलवायु परिवर्तनको असरका कारण नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो समस्या परेको बताउनुभयो । “जलवायु परिवर्तनको असरले नेपालको स्वास्थ्य क्षेत्र ठूलो जोखिममा परेको छ, यो मुलुकका लागि चुनौतीको विषय हो”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री यादवले जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि गुरुयोजना बनाएर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले यसबाट हुने जोखिम न्यूनीकरणका लागि विभिन्न देशसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको दिगो विकासका लागि आजैदेखि सोच्नुपर्नेबेला आएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि राष्ट्रियस्तरबाट विशेष नीति बनाएर अन्तर्राष्ट्रियस्तरसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नास्टका उपकुलपति डा दिलीप सुब्बा, सचिव डा रवीन्द्रप्रसाद ढकाल, जलवायु स्वास्थ्य फाउण्डेशन अमेरिकाकी प्रतिनिधि क्लेयर ल्याङ्गली, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ( इसिमोड ) युकेकी उपमहानिर्देशक इजाबेला कोजीइललगायतले जलवायु परिवर्तनले विश्वलाई नै असर पारेको भन्दै यसको नियन्त्रणका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा जलवायु परिवर्तनले स्वास्थ्य र वातावरणका क्षेत्रमा पारेका असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ तथा कसरी एकताबद्ध भएर नयाँ खोज र अनुसन्धानमा जुट्न सकिन्छ भन्नेबारेमा बृहत् छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रमोद जोशीले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>