देश/प्रदेश

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन

Banner
 स्याङ्जा,  फागुन २९ –
स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाउनुभएको छ ।  भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उहाँले गाउँमै बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो ।
परम्परागत रूपमा बाउबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित गुरुङले अढाई वर्षपहिले रु पाँच लाख लगानी गरेर कृष्टिना गुरुङ बोयर बाख्रा तथा कृषि पशुपक्षी फार्ममार्फत १२ बाख्राबाट व्यवसाय सुरु गर्नुभएको थियो ।
गुरुङले २०७८ सालमा म्याग्दीबाट रु एक लाख ५० हजार बोयर बाख्राको पाठो र चापकोटबाट रु एक लाख २० हजार बोयर माउ ल्याएर बाख्रापालन थालेको बताउनुभयो । “बाख्रापान गर्दै जाँदा रु सात लाख लगानी गरेर आधुनिक खोर बनाएँ,” उहाँले भन्नुभयो, “फार्ममा अहिले ५६ बाख्रा छन् ।” गुरुङको फार्म चरन क्षेत्र, घाँसे बारी, खोरसहित १५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
“लामो समय विदेश बस्दा पनि खासै उपलब्धि हुन सकेन, अलिअलि कमाएको पैसाले बाख्रापालन गरेर परिवारसँग बस्छु भन्ने सोच थियो, युट्युब हेर्दै जाँदा नेपालमा बोयर बाख्राको राम्रो सम्भावना रहेको देखेँ”, उहाँले भन्नुभयो, “हाम्रोजस्तो ठाउँमा सिधै बाहिरबाट ल्याएको शुद्ध बोयर राम्रो नहुने भएकाले खरी जातका बाख्रामा बोयर क्रस गरेर बाख्रा पाल्दै आएको छु ।” गुरुङले खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म रु १८ लाख लगानी पुगेको सुनाउनुभयो ।
उहाँले खरी जातका बाख्रामा बोयर क्रस गर्दै शुद्ध बोयर बनाउने लक्ष्यका साथ बाख्रापालन सुरु गरेको बताउनुभयो । “हाल मेरो फार्ममा ७५ प्रतिशत, ६२ प्रतिशत र ५० प्रतिशतका बोयर बाख्रा रहेका छन्”, उहाँले भन्नुभयो, “आगामी तीन वर्षमा शत्प्रतिशत बोयर बाख्रा बनाउने उद्देश्य छ ।”
गुरुङले कोरोनाकालमा लकडाउनले गर्दा बाख्रापालन व्यवसायलाई सोचेअनुसार गति दिन नसकेको गुनासो गर्नुभयो । “स्वदेश फर्केर बाख्रापालन गर्छु भन्ने सोचले रकम जम्मा पारेको थिएँ”, उहाँले भन्नुभयो, “स्वदेश फर्किएपछि लकडाउन भयो, सोचेजस्तो लगानी गर्न सकिएन, लगानीको अभावमा व्यवसाय विस्तारमा अल्लि ढिला भयो ।”
अहिले व्यवसाय राम्रो हुँदै गएको उहाँले बताउनुभयो । “उत्पादन गर्न सके बजार पनि राम्रो छ”, गुरुङले भन्नुभयो, “प्रतिकिलो रु नौ सय ५० मा वालिङ बजारमै काटेको मासु बिक्री गर्दै आएको छु, उत्पादन कम भएकाले बाहिरको माग धान्न सकिरहेको छैन ।”
खोर अग्लो भएका कारण जाडो मौसममा समस्या देखिने गरेको सुनाउँदै उहाँले हालसम्म विभिन्न रोगका कारण ४४ बाख्रा मरेको बताउनुभयो । गुरुङले पशुपक्षीमा स्वास्थ्य समस्या आएमा गल्याङ नगरपालिकाको पशु स्वास्थ्य समूहले तत्काल सेवा दिँदा आफूलाई सहज भएको बताउनुभयो ।
जिल्ला पशु विज्ञबाट खोर सुधार कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजार र नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ३३ हजार अनुदान दिएको उहाँले सुनाउनुभयो । गाउँमा गरेको व्यवसाय फस्टाउँदै गएपछि गाउँलेहरू र विभिन्न सामाजिक व्यक्तित्वले व्यवसायलाई थप विस्तार तथा व्यवस्थित गराउन सुझाव दिने गरेको उहाँले बताउनुभयो ।
उहाँले चरन क्षेत्रको पनि राम्रो सुविधा भएको बताउनुभयो । “बाख्रापालन गर्दा घाँसको व्यवस्थापन गरेर पाल्न सकियो भने उत्पादन लागत मूल्य घट्न जान्छ”, गुरुङले भन्नुभयो, “मैले स्थानीय जातका घाँसबाहेक उन्नत जातका १२ प्रकारका घाँस लगाएको छु ।”
उहाँले करिब चार सय बोट सुन्तला पनि लगाउनुभएको छ ।  उहाँका सुन्तला बगैँचामा केहीले उत्पादन दिएका छभने केहीले निकट भविष्यमै उत्पादन दिने बताउनुभयो । गुरुङ बिहान ४ः३० देखि साँझ छ बजेसम्म नै बाख्राको स्याहारसुसार र रेखदेखमा खटिने गर्नुहुन्छ । उहाँको कामलाई श्रीमती भीमकुमारी गुरुङले पनि राम्रो साथ दिँदै आउनुभएको छ । उहाँका एक छोरी पनि हुनुहुन्छ ।
गुरुङलाई १८ वर्ष विदेश बसेकामा पछुतो छ । उहाँले विदेशको श्रम स्वदेशमा गर्ने हो भने विदेशभन्दा राम्रो कमाई गर्न सकिने अनुभव सुनाउनुभयो । गुरुङले आफूले गर्ने कामको प्राविधिक ज्ञान लिएर निरन्तर काम गर्न सकेमा सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषकलाई आधुनिक प्रविधिसहितका तालिमको व्यवस्था निरन्तर गरिदिन सरोकारवालासँग आग्रह गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area