चितवन विशेष

चितवनका साहित्यकार हिरा लामालाई सहिद पौडेल राष्ट्रिय स्मृति पुरस्कार

Banner

चितवन, फागुन २७-

चितवनका साहित्यकार हिरा लामाले सहिद शिवप्रसाद पौडेल राष्ट्रिय स्मृति पुरस्कार पाउने भएका छन् ।

साहित्य संगम चितवनले लामाको उपन्यास ‘दलदल’ का लागि चैत ३ गते पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि १८ हजार रुपैयाँ रहेको छ ।

इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको उपन्यास साहित्यकार लामाको पहिलो उपन्यास हो । ‘प्रेम, गरिबी र राजनीति’ लाई मुख्य विषयवस्तु बनाएको यस उपन्यास विशेष त युवा पुस्ताप्रति लक्षित रहेको छ । चितवनको देवघाट क्षेत्रको परिवेशलाई केन्द्रित गरेर उपन्यास तयार गरिएको छ । यसमा वैदेशिक रोजगारीको बाध्यात्मक परिस्थिति र माओवादी द्वन्दलाई चित्रण गरिएको छ ।

साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाइँले कसैप्रति आग्रह र पूर्वाग्रह नराखी तटस्थ भावले उपन्यास तयार गरिएकोले निर्णायक मण्डलले उत्कृष्ट कृतिको रुपमा चयन गरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ उपन्यासमा शब्द बनोट मिठो छ । राष्ट्रिय तहको कृति भएकोले यसलाई छनोट गरिएको छ ।’ यसअघि उनको दुईवटा लघुकथा संग्रह प्रकाशित भइसकेका छन् ।

को हुन् हिरा लामा ?

बारा जिल्लाको डुमरवानाबाट विद्यालय शिक्षा सुरु गरेका उपन्यासकार लामा विद्यालयदेखि नै साहित्यिक पत्रिकाहरु मधुपर्क र गरिमा अध्ययन गर्ने बानीले साहित्य लेखनमा प्रवेश गरेका हुन् ।

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट बीएस्सी र अर्थशास्त्रमा एमए गरेका उनी अहिले विगत एक वर्षदेखि पर्वत जिल्लाको पातीचौर बजारमा शिक्षकको रुपमा काम गरिरहेका छन् । भरतपुर प्रेमबस्तीका स्थायी बासिन्दा हिरा लामाको यसअघि २०६२ सालमा लघुकथा संग्रह ‘बाज र परेवा’ र २०६७ सालमा अर्काे कथा संग्रह ‘जेब्रा र हुँडारहरु’ प्रकाशित भइसकेका छन् । साहित्यकार लामा कला र अभिनयमा पनि विशेष रुचि राख्छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>