खेलकुद

पदमोदय जिल्लास्तरीय भलिबलको उपाधि हिमाल युवा क्लवलाई

Banner

चितवन, फागुन २६–

पश्चिम चितवनको पदमोदय युवा क्लब पदमपोखरीद्वारा आयोजित पदमोदय जिल्लास्तरीय खुल्ला नकआउट भलिबल  प्रतियोगिताको उपाधि हिमाल युवा क्लव भरतपुर–१३ चम्पानगरले जितेको छ ।

शनिबार भएको फाइनल प्रतिस्पर्धामा आफ्नै वडाको अर्को क्लव राइनो कुन्ज खेलकुद समिति, भरतपुर–१३ लाई ३–१ को सेटमा पराजित गर्दै हिमालले उपाधि जितेको हो । उपाधिसंगै हिमाल युवा क्लवले ५० हजार रुपैयाँ, मेडल, प्रमाण पत्र प्राप्त ग¥यो । उपविजेतामा चित्त बुझाएको राइनो कुञ्जले ३० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त ग¥यो । फाइनल प्रतिस्पर्धामा पहिलो सेट हिमालले २५–१५, दोस्रो सेट २५–२१ ले जित्यो भने तेस्रो सेटमा राइनो कुञ्जले २५–१४ ले जित्दै खेलमा फर्किन प्रयास गरेको थियो । चौथो सेटमा हिमालले २५–१९ ले जितेपछि ३–१ को नतिजा निकाल्दै उपाधि माथि कब्जा जमाएको हो ।

फाइनल प्रतिस्पर्धाको खेलमा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेलले रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए । यसअघि आजै दुई सेमीफाइनल खेल भएका थिए । पहिलो सेमीफाइनलमा राइनो कुन्ज खेलकुद समिति, भरतपुर–१३ ले कन्चन समाज विकास परिषद, भरतपुर–२१ लाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यस्तै दोस्रो सेमीफाइनलमा बाग्लुङ समाज, गैंडाकोटलाई ३–२ को सेटमा पराजित गर्दै हिमाल युवा क्लब, चम्पानगर फाइनल प्रवेश गरेको थियो ।

यो सेमीफाइनल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो सेट हिमालले २७–२५ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेटमा बाग्लुङ समाजले ठिक विपरीत २७–२५ ले जित्दै खेलमा फर्किएको थियो । तेस्रो सेट बाग्लुङ समाजले २५–१४ ले जित्दै फाइनल नजिक पुगेको थियो । तर चौथो सेट हिमालले २५–१७ ले जितेपछि खेल २–२ को बराबरी अवस्थामा पुगेको जियो । पाँचौं तथा निर्णायक सेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै हिमालले १५–७ ले जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

सेमीफाइनलमा पराजित भएका बाग्लुङ समाज गैंडाकोट र कन्चन समाज विकास परिषद, भरतपुर–२१ ले १० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा बाग्लुङ समाज गैंडाकोटका रोमन विष्ट उत्कृष्ट स्पाईकरको अवार्ड पायो भने राइनो कुञ्जका सुमन आले उत्कृष्ट लिब्रोको अवार्ड जिते ।

प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रमुख अतिथि सेन्ट्रल कलेजका प्रिन्सिपल वाइबी पौडेलले चितवन र छिमकेी जिल्लाहरुमा खेलकुद गतिविधलाई प्रवद्र्धन गर्न सेन्ट्रल कलेज सधै साथमा रहेको बताए । उनले आगामि दिनमा पनि यस्तै सहकार्य जारी राख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै शिवालय टोल विकास संस्थाका अध्यक्ष धिरन लोहनी पद्मोदय भलिबलको इतिहासको बारेमा प्रष्ट पारेका थिए । पद्मोदय युवा क्लवका अध्यक्ष रामहरि सेढाईले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे । प्रतियोगिताका संयोजक निशान पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

पद्मोदय युवा क्लबले २०३६ सालदेखि महाशिबरात्रीको अवसर पारेर यो प्रतियोगिता गर्दै आइरहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ को प्रारम्भ भएको केही दिनमै पर्यटकीय नगरी पटिहानी पदमपोखरीस्थित क्लव परिसरमा यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

झण्डै ४ दशकको ईतिहास रहेको यस क्षेत्रको भलिबल प्रतियोगिताले मोफसलमै छुट्टै पहिचान बनाउन सफल भएको छ । क्लबले २०७१ मा राष्ट्रिय तथा २०७२ मा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>