चितवन विशेष
महिला उद्यमी मञ्च चितवनको खुला रक्तदानमा ५७ जनाले गरे रगत दान

चितवन, फागुन २६-
चितवनमा ५७ जनाले रक्तदान गरेका छन् ।
११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चितवन उद्योग संघ महिला उद्यमी मञ्चले आज शनिबार संघ कार्यालय परिसर भरतपुरमा गरेको खुला रक्तदानमा ५७ जनाले रगत दान गरेका हुन् ।
महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले असाहय, बिरामी, वृद्धवृद्धाहरुलाई समयमै रगतको आपूर्ति गर्न नसकिँदा रगतकै अभावमा ज्यान जाने अवस्था सिर्जना भइरहेको भन्दै रक्तदानले केही हदसम्म पनि समस्या समाधानको प्रयास गर्ने आशा व्यक्त गरिन् ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपाने, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, बागमती प्रदेश उद्योग परिसंघ, महिला समितिका अध्यक्ष चन्दना कोइरालालगायतले शुभकामना व्यक्त गरेका छन् । रक्तदान कार्यक्रमलाई सहयोग गर्ने बोटलर्स तराई (नेपाल), नेपाल औषधि उत्पादक संघ, मोडेल पोल्ट्री उद्योग प्रालि र स्वस्ती व्यूटी पार्लर एण्ड टे«निङ सेन्टरलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।
चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक प्रमिला थापाले सञ्चालन गरेको कार्यक्रममा उद्यमी मञ्चकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सरिता पौडेल खनालले स्वागत मन्तव्य राखेकी थिइन् ।

























