देश/प्रदेश

स्थानीय खेतीतर्फ किसानको आकर्षण

Banner

कैलाली,  फागुन २५ –

स्थानीय जातको रैथाने थारु आलुखेतीमा यहाँका किसानको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आलुको माग बढ्न थालेपछि त्यसतर्फ किसानको आकर्षण बढ्न थालेको हो ।

माग बढ्नुका साथै विकासे आलुको तुलनामा महँगोमा बिक्री हुन थालेपछि किसानले व्यावसायिक आलुखेती गर्न थालेका स्थानीय बताउँछन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले विकासेभन्दा स्थानीय जातको आलुको माग बढि भइरहेकाले यसलाई व्यावसायिकरूपमा गर्न थालिएको बताउनुभयो ।

उहाँले यस वर्ष सात कठ्ठामा आलुखेती गरेको बताउनुभयो । “मैले पहिले टिपीएस, कार्डिनललगायतका आलु पनि लगाउँथे । यस वर्ष थारुआलु मात्रै लगाएको छु”, चौधरीले भन्नुभयो, “थारुआलुको माग पनि बढेको छ । खान पनि स्वादिलो हुन्छ, त्यसैले यसको उत्पादनमा जोड दिएको छु ।” उन्नत जातका आलु हाल बजारमा प्रतिकिलो रू २५ देखि ३० मा बिक्री हुने भन्दै थारुआलु प्रतिकिलो रू ५० मा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष २५ क्विन्टल आलु उत्पादन भएको चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष १५ क्विन्टल जति बिक्री गर्छु । अरु आफूलाई खान र बीउका लागि राख्छौँ । असारसम्म बिक्री गर्छौँ । त्यो बेला मूल्य अझ बढी हुन्छ । प्रतिकिलो रू ८० देखि एक सयसम्ममा बिक्री हुन्छ ।” धनगढीमा रहेको हाटबजारमा सहजै बिक्री हुने भन्दै काठमाडौँबाट पनि माग आइरहेको बताउनुभयो ।

“आलु खनेर निकालेपछि यो सिजनमा फल्ने तरकारी लगाउँछु । तरकारी खेतीबाटै चार जनाको परिवारको खर्च, छोराछोरीको पढाइलेखाइ सबै चलाएको छु”, चौधरीले भन्नुभयो । उहाँका अनुसार सबै खर्च कटाएर थारुआलु तथा अन्य तरकारीबाट वार्षिक रू तीन लाखसम्म बचत भइरहेको छ ।

खानमा स्वादिलो, कम बिग्रिने, भण्डारण गर्न सजिलो हुने भएकाले पछिल्लो समय किसानले रैथाने थारु आलु लगाउन थालेका स्थानीय पदीराम चौधरीले बताउनुभयो ।

उहाँले आठ कठ्ठा आलुखेती गरेको बताउँदै करिब २५–२६ क्विन्टल उत्पादन भएको बताउनुभयो । “अहिले बिक्री सुरु गरेका छौँ । १२ देखि १५ क्विन्टलसम्म यस वर्ष बिक्री गर्छौँ”, उहाँले भन्नुभयो, “बाँकी आफूले खान र बीउका लागि राख्छौँ ।”

थारु आलु घरमै लामो समय भण्डारण गरेर राख्दा नबिग्रिने उहाँले पदीरामले बताउनुभयो । गोबरमलको प्रयोग हुने भएकाले स्वास्थ्यका लागि थारुआलु राम्रो हुने भन्दै बजारमा यसको माग बढ्न थालेको उहाँको भनाइ छ ।

सोही ठाउँका स्थानीय फूलीराम चौधरीले यस वर्ष तीन कठ्ठामा आलुखेती गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष १० क्विन्टल जति उत्पादन भएको थियो । पाँच क्विन्टल आलु हाटबजारमा लगेर बिक्री गरिसकेँ, बाँकी आफ्नो परिवारका लागि तरकारी र बीउका लागि राखेका छौँ ।” बीउका लागि कैलालीको घोडाघोडी नगरपालिका–१ पहलमानपुरस्थित शीतभण्डारमा लगेर राख्ने गरेको उहाँले बताउनुभयो ।

सोही ठाउँका वीरेन्द्र चौधरीले पनि पाँच कठ्ठामा आलुखेती गर्दै आएको बताउनुभयो । “पहिले विकासे जातको आलु पनि लगाउँथ्यौँ । अहिले थारुआलुलाई जोड दिएका छौँ । यस वर्ष १५ क्विन्टल उत्पादन भएको छ”, उहाँले भन्नुभयो, “पुर्खौँदेखि लगाउँदै आइएको रैथाने आलु लगाउन छोडिँदै गएको थियो । यसको मागसँगै मूल्य पनि बढी भएकाले फेरि किसानले लगाउन थालिएका छन् ।”

शान्तिटोलका करिब ५० किसानले थारुआलु खेती गर्दै आएका स्थानीयको भनाइ छ । थारुआलु संरक्षण र प्रवर्द्धनका लागि विशेष पहल गरिने धनगढी उपमहानगरपालिका–६ का वडाध्यक्ष भागिराम चौधरीले बताउनुभयो ।

“रोग कम लाग्ने, थोरै जग्गामा लगाउँदा उत्पादन धेरै हुने, खानमा स्वादिलो, लामो समयसम्म राख्दा नबिग्रिने थारुआलु संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “उन्नत जातको आलुको तुलनामा यसले कम मेहनतमा बढी उत्पाद दिन्छ ।” यसको प्रवर्द्धन, खेती विस्तार गर्न आवश्यक भएको स्थानीय सरकारले पहल गर्ने उहाँको भनाइ छ ।

आलु प्रवर्द्धनका लागि जिल्लाका विभिन्न ठाउँका किसानलाई कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको जिल्लास्थित केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार केन्द्रले चालु आवमा जिल्लाका विभिन्न ठाउँमा ४२ हेक्टर जग्गामा थारु आलु खेतीका लागि ७१ किसानलाई अनुदान, बीउबिजन, विषादि, स्प्रे, सिँचाइलगायतमा अनुदान दिएको छ ।

सो क्षेत्रबाट १० हजार क्विन्टल बढी थारुआलु उत्पादन हुने ज्ञान केन्द्रको अनुमान छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area