देश/प्रदेश

बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुल मर्मत नहुँदा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

Banner

बाँके, फागुन २४-

बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा राप्तीको बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

कुसुमस्थित बासखोली–भवानियापुर जोड्ने उक्त झोलुङ्गे पुलमा २०७९ असोजमा आएको बाढीले क्षति पु¥याएको थियो । पुल क्षतिग्रस्त भएको डेढ वर्ष बितेपनि मर्मत हुन नसक्दा दुर्घटनाको जोखिम बढेको राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताउनुभयो । “बाढीले गर्दा झोलुङ्गे पुलका लठ्ठा चुँडिएका छन्, बाढीले बगाएको रुख पुलमै आएर अड्किएको छ, पुलका प्लेट पनि मान्छे खस्नेजस्ता भएका छन्”, वडाध्यक्ष खड्काले भन्नुभयो, “कुन दिन पुल नै खसेर ठूलो मानवीय क्षति हुने अवस्था छ ।”

उक्त झोलुङ्गे पुल भएर राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ भवानियापुर, खुटी गाउँलगायत दाङको राजपुर गाउँपालिकाको भौवा, भैसाही तथा भारतबाट समेत ठूलो सङ्ख्यामा तीर्थयात्री आवतजावत गर्छन् । पुलमा बाढीले क्षति गरेपछि जोखिमपूर्ण अवस्थामा आवतजावत गर्नुपरिरहेको स्थानीय भरत बुढाथोकीले बताउनुभयो । झोलुङ्गे पुलमा क्षति पुगेको डेढ वर्ष बितिसक्दा पनि अहिलेसम्म मर्मत गर्न बेवास्ता गरिएको उहाँको गुनासो छ ।

राप्ती सोनारी– १ राप्तीपारी भवानीयापुर गाउँका स्थानीय मोहनराज डाँगीले क्षतिग्रस्त झोलुङ्गे पुलको अवस्था अत्यन्त दयनीय रहेको र जुनसुकै बेलामा पनि पुल खस्ने अवस्थामा पुगेको बताउनुभयो । पुल मर्मतका लागि राप्ती सोनारी गाउँपालिका–१ कार्यालयले गाउँपालिका कार्यालयदेखि विभागमा पटक–पटक पत्र पठाए पनि वास्ता नभएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

“क्षतिग्रस्त पुल मर्मत गरिदिन चार÷पाँच पटक जति पत्र पठाइसकेँ, क्षतिग्रस्त पुल हेर्न सांसद आउनुभयो, गाउँपालिकाबाट पनि अध्यक्ष आएर हेर्नुभयो”, वडाध्यक्ष खड्काले भन्नुभयो, “दुई पटक झोलुङ्गे पुल शाखाका प्राविधिक आएर फर्के, यो वर्ष पनि मर्मत हुने छाँट छैन ।” राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुल निर्माणको लागि आफूले निरन्तर पहल गर्दै आएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area