Breaking News

चितवनका दुग्ध व्यवसायीको गुनासो: ट्राफिक प्रहरीले सारै दुःख दियो, ढुवानीमा कठिनाइ भयो

Banner

चितवन, फागुन २३-

दुग्धजन्य पदार्थको उत्पादनलाई निश्चित ठाउँसम्म पुर्‍याउन कठिनाइ भएको भन्दै चितवनका दुग्ध व्यवसायीले गुनासो गरेका छन् ।

जिल्ला समन्वय समितिले बुधबार गरेको व्यवसायीहरुमा देखिएका समस्या र समाधान सम्बन्धीअन्तरक्रियामा व्यवसायीले ट्राफिक प्रहरीको झन्झटले समस्या भएको गुनासो गरेका हुन् । व्यवसायीले गाडीमा कागजात भएर पनि विभिन्न बहानामा सडकमा ट्राफिक प्रहरीले दुःख दिइरहेको अन्तरक्रियामा बताएका छन् ।

भरतपुर–२२ गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले व्यवसायीले उत्पादन गरेको दुग्धजन्य पदार्थ निश्चित ठाउँमा पुर्‍याउन कठिनाइ भएको बताए । उनले भने, ‘ दूध बोक्ने बोलेरो गाडीले तीन टन भन्दा बढी दूध बोक्न नदिँदा समस्या भएको छ । दहीदूध बिलमा लेखेर पठाउँदा ट्राफिकले मान्दैन, जोख्न लगाउँछ । बिहान तीन बजे दूध गाडीले बोक्नुपर्छ तर ट्राफिकले चहकिलो लाइट हाल्दा कारबाही गर्ने गरेको छ । हामी सारै समस्यामा परेका छौं ।’ अन्य जिल्लमा दुग्धजन्य पदार्थ निर्यात गर्न ढुवानीका साधनलाई अवरोध भएको उनको भनाइ छ । उनले भने, ‘मेरो नमुना गाई फार्म छ । त्यहाँबाट उत्पादित दूधबाट दूध, दही, पनिर, बटर, मिठाइका परिकार उत्पादन हुन्छ । यसरी उत्पादन गरिएको वस्तुलाई अन्य ठाउँसम्म पुर्‍याउन ढुवानीका साधनलाई अवरोध गर्ने गरेको छ । यसलाई सहज बनाउनको लागि आग्रह गर्दछु ।’ उनले बजार अनुगमनलाई पनि विशेष ध्यान दिन सुझाव दिएका छन् ।

पिठुवा दुग्धजन्य पदार्थ उत्पादन संयोजक गंगाराम गुरुङले स्थानीयस्तरका किसानले दुधमा पानी मिसाएर बिक्री गर्ने प्रवृति रहेको गुनासो गरे । यसरी दुधमा पानी मिसाउनाले दुग्धजन्य पदार्थबाट उत्पादित बस्तुको गुणस्तर कम हुने गुनासो गरे । उनले भने,‘ यस्ता समस्याहरु स्थानीयस्तरबाट स्थानीयले नै समाधानतर्फ लागे समस्या समाधान हुन सक्छ ।’ साथै राज्य पनि यस विषयमा संवेदनशिल हुन आवश्यक रहेको सुझाव दिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष तेजेन्द्रप्रसाद भुषालले शिक्षकले कक्षा कोठामा विद्यार्थीलाई दुग्धजन्य पदार्थकोे फाइदाको विषयमा अध्यापन गराउने बताए । उनले विद्यालयको दिवा खाजा कार्यक्रममा दुुग्धजन्य पदार्थको प्रयोग बढी गरेको जानकारी दिए । उनले भने, ‘हामीले विद्यालयको दिवाखाजा कार्यक्रममा दुुग्धजन्य पदार्थको प्रयोग बढी गर्न जोड दिएका छौँ । यसले गर्दा विद्यार्थीको स्वास्थ्यलाई राम्रो हुन्छ ।’

जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष किशोर बगालेले चितवनमा अहिले पनि ६० हजार लिटर भन्दा बढी दूध बिक्रीमा समस्या भएको गुनासो गरे । अध्यक्ष बगालेले भदौ देखि यहाँका किसानले दूध बिक्री गरेको पैसा पाएका छैनन् भने ५२ करोड रुपैँया भुक्तानी उद्योगीबाट लिनुपर्ने बताए ।

चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले दुग्धजन्य पदार्थको उत्पादन हरेक घर घरमा घटेको गुनासो गरे । अध्यक्षन्यौपानेले उपभोग गर्ने व्यक्ति घटेकाले उत्पादन घटेको सुनाए । उनले भने, ‘प्रत्येक घर, उद्योगमा दुग्धजन्य पदार्थको उत्पादन घटेको छ । पछिल्लो समय युवा विदेशिने क्रम बढ्दो छ । उपभोग गर्ने व्यक्तिको अभाव छ ।’ उनले कृषिजन्य वस्तु अन्य जिल्ला पठाउँन तीन दिनसम्म लाग्ने समस्या अझैँ पनि रहेको सुनाए । उनले खुकुलो भन्सार नीतिले गर्दा पनि यस्ता समस्या उत्पन्न भएको बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जिल्लामा दुग्धजन्य पदार्थको बजार व्यवस्थापन राम्रो नभएको भन्दै गुनासो गरे । प्रमुख थापाले गुणस्तरयुक्त वस्तु कहाँ पाइन्छ भनी उपभोक्तालाई थाहा नभएको बताए । उनले दुग्धजन्य पदार्थको फाइदाको विषयमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने सुझाव दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>