Breaking News

रवि लामिछानेले जीवी राईलाई प्रधानमन्त्रीले भगायो भन्नु बेतुकको तर्कः प्रधानमन्त्री दाहाल

Banner

चितवन, वैशाख ३०–

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीको रकम अपचलन गरेर फरार रहेका जीवी राईका विषयमा गृहमन्त्री रवि लामिछानेले आफूलाई जोडेर गरेको तर्क बेतुक र वाहियात रहेको बताएका छन् ।

आज अपरान्ह गृहजिल्ला चितवन आईपुगेका प्रधानमन्त्री दाहालले पत्रकारहरुसंग कुरागर्दै गृहमन्त्रीको उक्त तर्क बेतुकको तर्कको संज्ञा दिए । उनले सहकारीको रकम अपचलन गरेर फरार रहेका जीवी राईलाई पक्राउ गर्ने कुरामा सरकार प्रष्ट रहेको बताए । उनले भने–‘जीवी राइलाई ल्याउनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ, पासपोर्टको इस्युले अलिकति समस्या भएको छ, त्यसलाई हल गर्न खोजिदैछ ।’

गृहमन्त्री रवि लामिछानेले हिजोमात्रै चितवन आएर अघिल्लो सरकार अर्थात् प्रधानमन्त्री प्रचण्डले नै जीवी राईलाई भगाएकोले पक्राउ गर्न समस्या भइरहेको आरोप लगाएका थिए । गृहमन्त्री लामिछानेको उक्त जवाफ वाहियात र कुतर्क रहेको प्रधानमन्त्री दाहालको भनाई छ । प्रधानमन्त्री दाहालले भने–‘गृहमन्त्रीको त्यो कुरा वाहियात हो, कुतर्क कसैले पनि गर्न हुँदैन । जीवीराईलाई अघिल्लो सरकारले, प्रधानमन्त्रीले, गृहमन्त्रीले भगायो भन्नु बेतुकका तर्क हो ।’

यस्तै प्रधानमन्त्री दाहालले जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा कुनै शंका नरहेको बताए । पर्सी विहानसम्म निकास निकालेर भएपनि नीति तथा कार्यक्रम प्रस्तुत गर्न वातावरण तयार पारिने दावी गरे । गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको रकम अपचलनको विषयमा संसदीय छानविन समिति बनाउने विषयमा गृहमन्त्री लामिछानेले पनि सैद्धान्तिक रुपमा विरोध नजनाएको भन्दै पर्सी विहानसम्म निकास निकाल्ने गरी काम अघि बढेको बताए । उनले पर्सी विहानसम्म पनि निकास ननिस्के राष्ट्रपतिको संवोधन नरोकिने दावी गरे ।

‘नेपाली कांग्रेसंग सकरात्मक वार्ता र छलफल भइरहेको छ, नीति तथा कार्यक्रममा अवरोध हुन्छ जस्तो लाग्दैन, कांग्रेसले त्यसो गर्न पनि सुहाउँदैन, सकेसम्म सदन चलाउने गरिनै सहमती हुन्छ नभएपनि नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ’–प्रधानमन्त्री दाहालले भने । उनले थपे–‘कांग्रेसले सहमति होस् भन्ने चाहना राखेको छ, त्यसमा म प्रत्यनशील छु ।’

प्रधानमन्त्री दाहालले सहकारीका विषयमा व्यक्ति केन्द्रित नभई समग्र समस्याग्रष्त सहकारीका विषयमा संसदीय समिति बनाउने विषयमा नै सबै एकजुट हुन आवश्यक रहेको बताए । यस्तै दाहालले पछिल्लो समय नेपाली कांग्रेससंगको भेटवार्तालाई नकरात्मक रुपमा नलिन आग्रह गर्दै कांग्रेसलाई आफूले कहिल्यै पनि नेगेटिभ नसोचेको र आफूलाई पनि कांग्रेसले नसोच्ने दावी गरे । उनले चितवनको विकासमा आफ्नो जहिल्यै पनि साथ र सहयोग बताए । प्रधानमन्त्री दाहाल भोलि विहान नारायणी नदीमा नेपालकै पहिलो आकर्षक सिग्नेचर पुलको शिलन्यासका लागि आजै चितवन आइपुगेका हुन् । उनी भोलि नै पूर्वीचितवनको खैरहनी नगरपालिकाको दशौं वार्षिकोत्सव समारोहमा पनि सहभागि हुने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>