चितवन विशेष

चितवनका कविता पारखीका माझमा कवि ज्योति जंगलको दमदार प्रस्तुति

Banner

चितवन, फागुन १२-

भरतपुरको होटल गुलमोहरमा जम्मा भएका चितवनका कविता पारखीहरुको माझमा लोकप्रिय कवि ज्योति जङ्गलले आफ्ना बलशाली कविता प्रस्तुत गरेकी छन् ।

चियासँग कविताको ५१ औं श्रृङ्खलामा जङ्गलले आफ्ना प्रकाशित र अप्रकाशित एक दर्जन कविता प्रस्तुत गरेकी हुन् । ‘चियासँग कविता’ श्रृङ्खलाका परिकल्पनाकार साहित्यकार ईश्वर कँडेलले उनको प्रस्तुतिबाट भरपुर आनन्द लिइएको बताए । त्यस्तै समालोचक उदय अधिकारी र गजलकार रमेश प्रभातले पनि कवि जङ्गलका जीवन दर्शन र नारीवादी कविताहरु सुन्न पाउँदा निकै प्रफुल्लित भएको बताए । जङ्गलको प्रस्तुतिपछि कविताको बारेमा गरिएको अन्तरक्रियाले कार्यक्रमलाई झनै रोमाञ्चक बनाएको उनीहरुले अनुभव सुनाए । कवि जङ्गलको पछिल्लो कविता सङ्ग्रह ‘आधारशिर उचालेर’ प्रकाशित भएको छ । उनले कविता प्रस्तुत गरेपछि धेरै दर्शक भन्दा पनि थोरै कविता पारखीहरु माझमा कविता प्रस्तुत गर्न पाउँदा निकै खुसी लागेको बताइन् ।

२०४८ सालबाट कविता लेख्न सुरु गरेकी जङ्गलका तीन कविता संग्रह , एक कथा संग्रह र एक गजल संग्रह प्रकाशित छन् । जसमा विसं २०६२ मा ‘पहाडको मन’, विसं २०६९ मा ‘मुक्त समय’ र गत वर्ष ‘आधाशिर उचालेर’ प्रकाशित भएका छन् भने विसं २०६५ मा ‘अक्षरमा तिमी’ गजल संग्रह र २०६५ मा ‘छाया’ कथा संग्रह प्रकाशित छन् । इलाममा जन्मिएकी कवि जङ्गल समाजका विभिन्न विकृति प्रतिको व्यङ्ग्य, अन्यायको विरुद्ध र नारी अस्तित्वको स्थापनका लागि सशक्त आवाज उठाउँछिन् । एक अंग्रेजी भाषामा कविता संग्रह प्रकाशनको तयारीका रहेकी उनले साहित्यमार्फत मानिसको चेतनालाई संस्कारित गर्नु लेखन कार्यको अभीष्ट रहेको धारणा राख्ने गरेकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>