क्रिकेट

एक्सपर्ट भरतपुर मेयर्स कप : नारायणीको लगातार तेस्रो जित, सनराइजको पहिलो जित

Banner

राकेश तिमल्सिना,

चितवन, फागुन ९-

एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समुह ‘बी’को सनराइज इङलिस स्कुलले पहिलो जित निकालेको छ । समुह ‘ए’ को नारायणी नमुना माविले भने लिगमा लगातार तेस्रो जित हात पारेको छ ।

आज भएका खेलमा सनराइजले इडन गार्डेन इङ्लिस स्कुललाई ९ विकेटले तथा नारायणीले लक्ष्मी मावि जगतपुरलाई ९४ रनको फराकिलो अन्तरमा हराएको हो । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा ३४ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङ थालेको सनराइजले २.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
सनराइजको जितमा कप्तान चन्दन महतो ११ रनमा नटआउट रहे । ओपनर सुजल पण्डित १० रन जोड्दा सौगात सापकोटाको बलमा बिकास सुनारद्वारा समातिए ।
बलिङमा सौगात सापकोटाको नाममा मात्रै १ विकेट रह्यो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको इडन गार्डेन ९.२ ओभरमा ३३ रन बनाउदा अलआउट भयो ।

इडन गार्डेनका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विपिन रानामगरले सर्वाधिक ९ रन बनाए ।

इडन गार्डेनको इनिङ्स ध्वस्त बनाउनेक्रममा उज्ज्वल पटेलले ५, चन्दन महतोले ३ र दिवस लामिछानेले २ विकेट लिए । ४ ओभर बलिङ गर्दै १ मेडनसहित१५ रन खर्चिएर ५ लिएका उज्जवल पटेल खेलको प्लेयर अफ द म्याच बने । समुह ‘बी’ मा पहिलो जित निकालेको सनराइज २ खेलबाट २ अंकसहित नेट रनरेटमा सुधार गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै अर्को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नारायणी नमुना माविले मावि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनायो । ३८ बलमा १ छक्का र ३ चौकासहित राहुल कुशवाहाले मध्यक्रममा ३० रन बनाए । १७ बल खेलेका ओपनर उमेश महतोले ५ चौका प्रहार गर्दै २५ रन जोडे ।

बलिङमा कुन्दन यादवले ३ तथा सुलभ श्रेष्ठ, बबिन्द्र रोकाया र गुल्सन ठाकुरले समान १ विकेट लिए । १ सय ४९ रनको लक्ष्य पछ्याउदै ब्याटिङ थालेको लक्ष्मी १५.५ ओभरमा अलआउट हुँदै ५४ रनमा समेटियो ।

लक्ष्मीका लागि बबिन्द्र रोकायाले सर्वाधिक १४ रन बनाए । समिर गैरेले १२ रन जोडे ।

लक्ष्मीको इनिङ्स ध्वस्त बनाउनेक्रममा उमेश महतोले ५, सन्जय यादवले २ तथा निखिल चापागाई, सन्देश खनाल र चन्दन कुमार यादवले समान १ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका उमेश महतो खेलको प्लेयर अफ द म्याच भए । जारी लिगमा लगातार तेस्रो जित निकालेको नारायणी नमुना मावि ६ अंक जोड्दै समुह ‘ए’ को शिर्षस्थानमा छ ।

प्रतियोगितामा भोलि हुने पहिलो खेलमा अर्किड इङलिस स्कुल र प्रभात मावि शुक्रनगर तथा अर्को खेलमा अंकुरम एकेडेमी र मावि गंगानगर प्रतिस्पर्धा गर्नेछ । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह-आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>