चितवन विशेष

देवघाटको गुरुकुल अक्षयकोषका लागि महायज्ञ, राष्ट्रपतिले भोलि उद्घाटन गर्ने

Banner

चितवन, माघ २९-

भरतपुर महानगरपालिका–१ देवघाटमा रहेको गार्गी कन्या गुरुकुलको अक्षयकोष स्थापनाका लागि आउँदो फागुन १ गतेदेखि पशुपतिनाथ क्षेत्रमा ज्ञान महायज्ञ गर्ने भएको छ ।

उक्त महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठानले श्रीमद् भागवत महापुराण गर्न लागेको आयोजक समितिका संयोजक गोविन्द टण्डनले जानकारी दिए । समाजसेवी भगवती उपाध्यायद्वारा विसं २०५२ देखि देवघाटधाममा सञ्चालन गरेको श्रीरामजानकी वेदविद्याश्रम र प्रतिष्ठित विदुषी स्वर्गीय अङ्गुरबाबा जोशीको इच्छाअनुसार २०६७ सालदेखि काठमाडौँमा गार्गी कन्या गुरुकुल सञ्चालनमा थिए । २०७२ सालको भूकम्पपछि काठमाडौँको गुरुकुललाई पनि देवघाटमा नै मर्ज गरिएको थियो ।

देशको पहिलो तथा समावेशी गुरुकुलमा कक्षा ६ देखि १२ सम्मको औपचारिक कक्षा सञ्चालन भइरहेको छ । यो गुरुकुलमा देशभरका ४७ जिल्लाबाट ८० जना बालिकाले आवासीय सुविधासहित निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन् ।

गार्गी कन्या गुरुकुलमा शास्त्रीय विषयको अध्यापन, वेद र विज्ञानको संयुक्त अध्यापन, नृत्य, वाद्यवादन र गायनको प्रशिक्षण, शास्त्रार्थ, प्रवचन, काव्यगोष्ठीजस्ता रचनात्मक क्रियाकलापमा सहभागिताको साथै ज्योतिष, कम्प्युटरलगायत विषय अध्यापन हुन्छ । बालविवाह अन्त्य गर्न, छोरीलाई शिक्षित बनाएर चेतना बढाउने उद्देश्यले नेपालमा गुरुकुलको आवश्यकता देखिएपछि गुरुकुल स्थापना गरिएको महायज्ञ आयोजना समितिका सहसंयोजक टंकनाथ पौडेलले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>