चितवन विशेष
विविध कार्यक्रम गरेर ब्रम्हपुर स्कुलले मनायो ३६ औँ वार्षिकोत्सव

चितवन, माघ २९-
भरतपुर महानगरपालिका–१६ मा रहेको आधारभूत विद्यालय ब्रम्हपुरले ३६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालयले आइतबार विद्यार्थीबीच नृत्य प्रतियोगिता, पुरस्कार वितरणसहित विविध कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्दिप सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कक्षा १ देखि ८ सम्म सञ्चालित विद्यालयमा ३१० जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक सुवेदीले जानकारी दिए । कक्षा १ देखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाइ भइरहेको विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुने कक्षा बढाउँदै लैजाने तयारी गरेको उनको भनाइ छ ।
विद्यालयको वार्षिकोत्सवकै अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक कुलप्रसाद घिमिरेले आफ्नी आमाको स्मृतिमा अक्षय कोष स्थापना गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा प्रयोग गर्ने गरी एक लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरिएको घिमिरेको भनाइ छ । सो कार्यक्रममा विद्यालयको अक्षय कोष निर्माण गर्न रकम दिने दाता, विद्यालयलाई आर्थिक, भौतिक र शैक्षिक सहयोग गर्ने व्यक्ति एवम् उत्कृष्ट शिक्षक तथा उत्कृष्ट आमाको रुपमा तीन जना अभिभावकलाई सम्मान गरिएको प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरु जुना डल्लाकोटी, भूपराज पाठक, देवराज विकको प्रस्तुति रहेको थियो । आधारभूत विद्यालय ब्रम्हपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमाल प्रमुख अतिथि रहेका छन् । कार्यक्रममा नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, विद्यालयका सल्लाहकार समिति सदस्य एवम् समाजसेवी रामबाबु थपलिया, ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निर्मला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । सहायक प्रधानाध्यापक अप्सरा बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षकहरु हरिप्रसाद गौतम र सुनिता भट्टले गरेका थिए ।

























