चितवन विशेष
लोकतान्त्रिक थारु संघ चितवनमा महतोको नेतृत्व

चितवन, माघ २८-
नेपाल लोकतान्त्रिक थारु संघ चितवनको अध्यक्षमा मणिराज महतो चयन भएका छन् ।
संघ चितवनको खैरहनीमा शनिबार सम्पन्न पहिलो अधिवेशनले महतोको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो ।
महतो थारु कल्याणकारी सभा चितवनको बौद्धिक फाँटको संयोजक पनि हुन् । उनले आफू अहिले एमाले निकट नेपाल लोकतान्त्रिक थारु संघको अध्यक्ष भएपछि समुदायप्रति झनै बढी जिम्मेवारी थपिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘थारु समुदायलाई सामाजिक, शैक्षिक, राजनीतिक र सांस्कृतिकरुपमा अगाडि बढाउन मुख्य भूमिका खेल्नेछु । समुदायका मानिसहरुलाई अगाडि बढाउन मुख्य भूमिका निर्वाह गर्नेछ्ु ।’
सप्तगण्डकी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख महतो गणित विषयका अग्रज प्राध्यापक हुन् । उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट गणित विषयमा एमएड गरेपछि २०५० सालदेखि सप्तगण्डकी बहुमुखी क्याम्पसमा गणित विषय प्राध्यापन गर्दै आइरहेका छन् । उनी अहिले गणित विषयको विभागीय प्रमुख हुन् । जगरु चौधरीको अध्यक्षतामा भएको संघको अधिवेशनमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेका थिए ।

























