गोरखा

अजिरकोटका किसानलाई व्यावसायिक भैँसीपालन तालिम

०
Banner

गोरखा, माघ २४-

गोरखाको अजिरकोट गाउँपालिकाले किसानलाई व्यावसायिक भैँसीपालन सम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ । पालिकाभित्र दुग्घ उत्पादन वृद्धिका लागि किसानलाई व्यावसायिक बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने तालिम प्रदान गरिएको गाउँपालिका पशु शाखाका प्रमुख डा रोशनराजबहादुर सिंहले जानकारी दिनुभयो । “भैँसीपालन गर्दै आएका सबै वडाका अगुवा किसानको छनौट गरी तालिम प्रदान गरिएको हो”, उहाँले भन्नुभयो, “किसानले भैँसीपालन गरी दूध उत्पादन गरे पनि भैँसीको स्याहारसुसार राम्रोसँग गर्न नजान्दा पर्याप्त लाभ लिन नसक्ने गरेकाले तालिम सञ्चालन गरिएको हो ।” तालिममा किसानलाई नस्ल गुणस्तर पहिचान गर्ने विधि, पशुवस्तुका लागि आवश्यक पर्ने सन्तुलित आहारा बनाउने तरिकालगायत बिषयमा जानकारी गराइएको डा।सिंहको भनाई छ ।

“किसानले आफ्नो गोठमा रहेका रोगी र निरोगी पशुको पहिचान गर्न नसक्दा समेत क्षति हुने ब्यहोर्दै आउनु परेको छ, उहाँले भन्नुभयो, “तालिममा रोगी पशु र निरोगी पशुको पहिचान गर्न समेत सिकाइएको छ ।”

त्यस्तै पशुवस्तुका लागि स्थानीयस्तरमा पाइने जडीबुटीका औषधीबाट गर्न सकिने प्राथमिक उपचारका साथै किसान आफँैले जुकाको औषधीहरु खुवाउने तारिका र समयको विषयमा समेत तालिममा जानकारी प्रदान गरिएको उहाँले बताउनुभयो । “रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि ध्यान दिनुपर्छ भन्ने जानकारी तालिमले दिइएको छ”, डा सिंहले भन्नुभयो, “पशुवस्तुका लागि खोपको महत्व र पशु बीमाको आवश्यकताका बारेमा समेत किसानलाई सचेतना प्रदान गरिएको छ ।” पालिकाभित्र पुख्र्यौलीदेखि नै भैँसीपालन गर्दै आएका अगुवा किसानलाई तालिम दिइएको उहाँले बताउनुभयो ।

“तालिममा सहभागी किसानलाई प्रतिकिसान १० लिटर र १२ लिटरका गरी दुईवटा दूध बोक्ने क्यान, मिनिरल पाउडर र भैँसीलाई खुवाउनका लागि भिटामिन समेत उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “किसानका लागि तालिम अत्यन्तै लाभदायक भएको छ ।” किसानलाई भैँसीलाई मिनिरल पाउडर तथा भिटामिन खुवाउँदा दूधको मात्रा बढ्छ भन्ने बुझाउनका र नियमित खु्वाउने बानीको विकास गराउनका लागि पाउडर तथा भिटामिन उपलब्ध गराएको हो ।

तालिममा २३ जना किसानको सहभागिता रहेको थियो । तालिम लिएका किसानले धेरै जसोले अहिले पनि दैनिक रुपमा भच्चेक बजारमा दूध ल्याएर बिक्री गर्दै आएका छन् । यही माघ २१ गते आइतबारदेखि सुरु भएको तालिम मङ्गलबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>