राजनीति
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, माघ १९-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटपछि ओलीले शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको जानकारी दिए ।
समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको बताउँदै ओलीले भने, ‘खास यो विधेयकमा छलफल भइराख्या छ समितिमा, त्यसलाई राम्ररी मिलाएर छिटै टुंग्याऔं भन्ने विषयमा छलफल भयो ।’ संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बिहीबार पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको ९टीआरसी० विधेयकमाथि छलफल हुँदै आएको छ । त्यसमा मुख्य गरी चार विषयमा सहमति जुटेको छैन ।
मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बिट्ररी) गरिएको हत्या-दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा मिलेको छैन । यसैगरी सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने, मानअधिकार उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र घटी सजायका सम्बन्धमा आधार कारण खुलाई सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत तोक्ने भन्ने विषयमा पनि विवाद कायम छ ।
विवादित विषयमा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्र प्रक्रियाबाट टुंग्याउने पक्षमा रहे पनि एमालेले सहमति जुटाउनु पर्ने अडान राख्दै आएको छ ।

























